भरतपुर, ३० वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला पदाधिकारी बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा बसेको बैठकले युवा विद्यार्थी दिवसको अवसरमा जेठ १ गते राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु चितवनद्वारा विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम तय गरेको छ ।
त्यसैगरी, जेठ २ गते दुर्घटनास्थल दासढुङ्गामा सरसफाइ कार्यक्रम गरिनेछ । जेठ ३ गते बिहान ७ बजे जिल्ला पार्टी कार्यालय भरतपुरबाट भेला भई दासढुङ्गा पुगेर दिवङ्गत नेता मदनकुमार भण्डारी र जीवराज आश्रित प्रति श्रद्धाञ्जली अर्पण गरिने जिल्ला सचिव प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो ।
यस्तै, जेठ ४ गते जिल्ला समन्वय समिति चितवनको सभाकक्षमा विचार गोष्ठी आयोजना गरिने भएको छ । उक्त कार्यक्रम सञ्चालनको जिम्मेवारी मदन भण्डारी फाउन्डेसन लाई दिइएको छ ।
जेठ ५ गते पश्चिम चितवनको गाजीपुरमा रहेको जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम गरिने सचिव ढुङ्गानाले बताउनुभयो ।
वि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले उक्त घटनालाई रहस्यमय हत्या भन्दै आएको छ ।





