काठमाडौँ । राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव ‘सेकरेड हिमालयज २०२६’ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो । यो महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न भएको हो ।
महोत्सवको पहिलो दिन रुट्स् एन्ड अवेकनिङ शीर्षकमा केन्द्रित थियो । मंगलमान महर्जन, ब्रबिम महर्जन र राजन महर्जनले ओपनिङ ब्लेसिङ अफ साउन्ड मार्फत कार्यक्रमको सौम्य सुरुवात गर्नुभएको थियो । हिमालयन सिङ्गिङ बाउल र गोङको गहिरो कम्पनले हलमा उपस्थित सबैलाई ध्यानमग्न अवस्थामा पुर्याएको थियो । त्यसलगत्तै गायिका सुगमा गौतम, सलिना बिक, तबला वादक जगन्नाथ धौगोडा र बाँसुरी वादक नागेन्द्र राईको सुमधुर जुगलबन्दीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
पहिलो दिनको प्यानल छलफलमा मंगलमान महर्जन, ब्रबिम महर्जन, अमेलिया कांग, कालिन योंग र दुर्गामणि मरानले संगीतका विविध आयाममाथि प्रकाश पार्नुभएको थियो । कार्यशालामा तबला वादक तथा कार्यक्रम संयोजक न्हुच्छे मुनिकार र नृत्यकार कृपा बज्रचार्यले शरीरमा सकारात्मक ऊर्जा जागृत गर्ने कला सिकाउनुभएको थियो । सोही अवसरमा काठमाडौँ युथ अर्केस्ट्राद्वारा प्रकाशित संग्स अफ नेपाल (नेपालका गीतहरू) नामक पुस्तकको लोकार्पण समेत गरिएको थियो ।
महोत्सवको दोस्रो दिन साइन्स, सोल एन्ड सिम्फनी सत्रमार्फत ध्वनिको वैज्ञानिक र आध्यात्मिक पक्षलाई जोडिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. अर्जुन आचार्यले ध्वनिको कम्पनले मानव स्नायु प्रणालीमा पार्ने सकारात्मक प्रभावबारे रोचक चर्चा गर्नुभएको थियो ।

महोत्सवको समापन भने निकै उल्लासमय रह्यो । डा. जोन शार्प्लीको नेतृत्वमा काठमाडौं युथ अर्केस्ट्राले प्रस्तुत गरेको स्प्रिङ कन्सर्ट सबैको आकर्षणको केन्द्र बन्यो । उक्त कन्सर्टमा नेपालको राष्ट्रिय गानदेखि मंगल धुन, ‘कान्छी मट्याङ ट्याङ’, ‘राजमती कुमती’, ‘उकाली ओरालीहरूमा’, ‘सीलु’ जस्ता मौलिक धुनहरूलाई अर्केस्ट्राको शैलीमा प्रस्तुत गरिएको थियो । त्यस बेला हलमा उपस्थित दर्शकहरू हर्षविभोर भएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो ।

सन् २०१८ मा सिङ्गापुरबाट यात्रा सुरु गरेको ‘युनिभर्स अफ साउन्ड’ अभियानले यसपटक नेपालको भूमिमा आफ्नो सांगीतिक सुगन्ध फैलाएको हो । सेकरेड हिमालयज २०२६ का परिकल्पनाकार तथा निर्देशकद्वय संगीतकार डा. जोन शार्प्ली र सिङ्गापुरकी साउन्ड हिलर अमेलिया काङले महोत्सवले संगीत, नृत्य र ध्वनिलाई अनुभव गर्ने एउटा साझा मञ्च प्रदान गरेको बताउनुभयो । डा. शार्प्लीले भन्नुभयो, ”सारा ब्रह्माण्ड नै एउटा कम्पन हो र ध्वनि भनेको अनुभवमा ढालिएको ऊर्जा हो ।”
अमेलिया काङले आफ्नो सन्देशमा यो उत्सव प्रश्नहरूको उत्तर खोज्न नभई स्वयंलाई महसुस गर्नका लागि भएको बताउनुभयो । आयोजक संस्था काठमाडौं युथ अर्केस्ट्राका संस्थापक सबिन मुनिकारले यस महोत्सवलाई नेपाली संगीतलाई विश्वव्यापी मञ्चमा नयाँ ढंगले चिनाउने एक ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्नुभयो ।







