काठमाडौं, २६ वैशाख ।
कुनै समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लाई ‘छोरा’ सरह स्नेह दिने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र बालेनबीच अहिले सम्बन्ध चिसिएको संकेत देखिएको छ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी पछिल्लो प्रकरणले यी दुईबीचको सम्बन्धमा गम्भीर दरार ल्याएको चर्चा भइरहेको छ ।
संवैधानिक परिषद्ले पहिलो वरीयताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाउँदै चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् । यही असन्तुष्टि शुक्रबार सार्वजनिक रूपमा पनि अभिव्यक्त भएको छ ।
एक युट्युबरले उनलाई ‘आमा दर्शन’ भन्दै सम्बोधन गरेपछि कार्कीले कडा प्रतिक्रिया दिँदै भनिन्, “को हो आमा भन्ने? तिमीहरूको आमा फेरिइसक्यो। म मेरो बच्चाको मात्रै आमा हुँ ।”
पत्रकारले ‘देशकी आमा’ भन्दै सम्बोधन गर्न खोजेपछि उनले थप कटाक्ष गर्दै भनिन्, “मलाई होइन, अब बालेनकी श्रीमतीलाई आमा भन्नू !”
न्यायपालिकाको मर्यादा र वरीयता मिचेर राजनीतिक स्वार्थका आधारमा नियुक्ति गरिएको भन्दै कार्की रुष्ट रहेको बताइएको छ । उनको पछिल्लो अभिव्यक्तिलाई धेरैले मेयर बालेनसँगको भावनात्मक दूरी सार्वजनिक रूपमा प्रकट भएको रूपमा अर्थ्याएका छन् ।




