पूर्वाधारदेखि समावेशीतासम्म : पूर्वमन्त्री जोशीद्वारा आफ्नै कार्यकालका योजनाको निरीक्षण

चितवन, २६ वैशाख ।
उत्तम जोशीले आफ्नो पाँच वर्षे कार्यकालमा अघि बढाइएका विकास योजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ । भरतपुर महानगरपालिका–११ अन्तर्गत सञ्चालित विभिन्न पूर्वाधार तथा सामाजिक विकास योजनाको निरीक्षण गर्दै उहाँले विकासलाई जनताको जीवनसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ काम गरिएको बताउनुभयो ।

पूर्वमन्त्री जोशीले वडा अध्यक्ष कमल बहादुर मल्ल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालासहित आफ्नो कार्यकालमा सञ्चालन भएका योजनाको अनुगमन गर्नुभएको हो ।

अवलोकनका क्रममा उहाँले निर्माण सम्पन्न तथा अन्तिम चरणमा रहेका सडक, नाला, विद्यालय भवन, विभिन्न जातजातिका सामुदायिक भवन, अपांगमैत्री विद्यालय भवन तथा नवजागृति पार्कको निरीक्षण गर्नुभयो । योजनाको गुणस्तर, निर्माण प्रगति र स्थानीय समुदायलाई पुग्ने दीर्घकालीन लाभबारे उहाँले चासो व्यक्त गर्नुभएको थियो ।

पूर्वमन्त्री जोशीले प्रदेश सरकारको बजेटलाई केवल भौतिक संरचना निर्माणमा सीमित नराखी सामाजिक रूपान्तरण र समावेशी विकासको आधारका रूपमा प्रयोग गरिएको उल्लेख गर्नुभयो । विशेषगरी अपांगमैत्री विद्यालय भवन निर्माणलाई समावेशी शिक्षाको महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै उहाँले राज्यका हरेक संरचना सबै नागरिकका लागि पहुँचयोग्य हुनुपर्ने सोचका साथ योजना अघि बढाइएको बताउनुभयो ।

स्थानीयवासीले पनि उहाँको कार्यकालमा सडक विस्तार, ढल तथा नाला व्यवस्थापन, शैक्षिक पूर्वाधार र सामुदायिक भवन निर्माणले विकासको अनुभूति गराएको बताएका छन् । वर्षौंदेखि अपेक्षामा रहेका कतिपय योजना अहिले पूर्णताको चरणमा पुगेपछि स्थानीयहरू उत्साहित देखिएका छन् ।

पूर्वाधारसँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गर्दै समुदायको पहिचान, संस्कृति संरक्षण तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको विश्वास व्यक्त गरिएको छ ।

पूर्वमन्त्री जोशीका अनुसार ती योजनाका लागि बागमती प्रदेश सरकारमार्फत करिब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अधिकांश योजना सम्पन्न भइसकेका छन् भने केही अन्तिम चरणमा पुगेका छन् ।
अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले विकासका काम घोषणा मात्र नभई कार्यान्वयनमार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी अघि बढाउनुपर्ने बताउनुभयो । “जनताको आवश्यकता पहिचान गरेर दीर्घकालीन प्रभाव पार्ने योजनामा लगानी गरिएको हो,” उहाँले भन्नुभयो, “आज ती योजनाहरू पूर्णताको चरणमा पुग्दा आत्मसन्तुष्टि मिलेको छ ।”

यसैबीच, वडा अध्यक्ष मल्लले पूर्वमन्त्री जोशीकै पहलमा प्राङ्गारिक कम्पोस्ट मल निर्माणलगायत विभिन्न विकास योजना अघि बढाइएको बताउनुभयो ।

जनता र समाजप्रति उत्तरदायी बन्दै जोशीले गरिब, विपन्न तथा विकासका दृष्टिले पछाडि परेका क्षेत्रको स्तरोन्नतिमा महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् । उहाँकै पहलमा विभिन्न मठमन्दिर तथा स्वास्थ्य केन्द्रसमेत निर्माण भएका बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट