हेटौँडा, २६ वैशाख ।
कम्प्युटर विज्ञान समाज मकवानपुरले मकवानपुर जिल्लाका कम्प्युटर विज्ञान अध्यापनरत शिक्षकहरूका लागि प्रबोधीकरण कार्यशाला सम्पन्न गरेको छ ।
दिनेश उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यशालामा भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद न्यौपानेले विषयवस्तु अध्ययन, प्रश्न निर्माण तथा आन्तरिक एवं प्रयोगात्मक अङ्क निर्धारणसम्बन्धी सहजीकरण गरेका थिए ।
पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ तथा प्रशिक्षकद्वय नवीनकृष्ण मास्के र विमल थापाले प्रशिक्षण दिएको कार्यक्रममा २२ विद्यालयका ३० जना कम्प्युटर शिक्षकहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षक मास्केले विद्यार्थीहरू प्रविधिमा शिक्षकभन्दा अगाडि बढिरहेको अवस्थामा शिक्षकहरूका लागि चुनौती र अवसर दुवै रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि विनोद सुवेदीले तालिमलाई अवसरका रूपमा ग्रहण गर्दै अनुशासित र जिम्मेवार शिक्षण अभियानमा लाग्न आग्रह गरे ।
अध्यक्ष दिनेश उप्रेतीले शैक्षिक सत्रको सुरुमै कम्प्युटर विज्ञान अध्यापनमा देखिने समस्या पहिचान तथा समाधानका लागि सहजीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा एनएनटिए मकवानपुरका अध्यक्ष मुकुन्द न्यौपाने, हेटौँडा मोडर्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सुदीप बर्तौलालगायतको आतिथ्य रहेको थियो ।
सहभागी शिक्षक डायमण्ड रुपाखेती र महेश पोदारले स्थानीय तहले लागू गरेको स्थानीय विषयका कारण कक्षा ६ देखि ८ सम्म कम्प्युटर विज्ञान विषय विस्थापित हुने अवस्था सिर्जना भएको बताएका थिए ।
कार्यशालालाई सनराइज पब्लिकेसन प्रालिले प्रायोजन गरेको थियो भने कार्यक्रमको सहजीकरण जनप्रिय माविका शिक्षक संप्रस पौडेलले गरेका थिए ।





