जनतालाई घरबारविहीन बनाउनु हुँदैन : हर्क साम्पाङ

हेटौंडा, २६ वैशाख ।
सांसद हर्कराज साम्पाङले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई घरबारविहीन बनाउने कार्यको आफू सधैं विरोधमा रहेको बताएका छन् ।

शनिबार चितवन जाने क्रममा हेटौंडा–११ थानाभर्‍याङमा स्थानीय भूमिहीन तथा अव्यवस्थित बसोबासी समुदायसँग भएको छोटो छलफल कार्यक्रममा बोल्दै उनले नेपालमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । जनतालाई विस्थापित गर्ने, घर भत्काएर लखेट्ने काम उचित नभएको उनको भनाइ थियो ।

सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसद्को पहिलो बैठकमै आफूले यी मुद्दालाई मुख्य एजेण्डाका रूपमा उठाएको उनले बताए । सरकारले गरेका राम्रो र नराम्रा कामको निरन्तर मूल्यांकन गर्दै जनताविरोधी गतिविधिविरुद्ध खबरदारी गर्दै आएको उनको दाबी थियो ।

उनले संविधानले प्रत्येक नागरिकलाई बाँच्न र आवासको अधिकार दिएको उल्लेख गर्दै राज्यले आतंक सिर्जना गर्ने ढंगले जनताको घर नभत्काउनुपर्ने बताए । “सबै जनताले बाँच्न पाउनुपर्छ, घर बनाएर बस्न पाउनुपर्छ, यो जनताको मौलिक अधिकार हो,” उनले भने ।

साम्पाङले मेचीदेखि महाकालीसम्मका नागरिकलाई जनताको घरबार भत्काउने कार्यविरुद्ध एकजुट भएर आवाज उठाउन आग्रह गर्दै आफू सधैं जनताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे । संसद् र सडक दुवै ठाउँबाट जनताको मुद्दा उठाइरहने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट