चितवन, २५ वैशाख ।
भरतपुर महानगरपालिका–१९ रामपुरस्थित अल्फावेट्ज एकेडेमीका विद्यार्थीहरूले मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराएका छन् । विद्यालयको जुनियर रेडक्रस सर्कलको अगुवाइमा भरतपुर–९ शरदपुरस्थित चितवन मानव सेवा आश्रममा रहेका आश्रितलाई आज भोजन सेवा प्रदान गरिएको हो ।
७८औँ रेडक्रस दिवसको अवसर पारेर विद्यार्थीलाई मानव सेवामा अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य छेमान छिरिङ तामाङले जानकारी दिनुभयो । कार्यक्रममा जुनियर रेडक्रस सर्कलका टोली, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
मानव सेवा आश्रम चितवनका उपाध्यक्ष विनोद ढकालले सडकबाट असहाय व्यक्तिहरूको उद्धार गर्दै परिवारमा पुनर्स्थापना गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म २५० जनाको उद्धार गरिएकोमध्ये करिब १०० जनालाई परिवारमा पुनर्स्थापना गरिएको छ ।
विद्यालयका शिक्षक नायक अमृत थापाले जन्मदिनजस्ता विशेष अवसरमा आर्थिक सहयोग संकलन गरी विद्यार्थीलाई मानव सेवामुखी कार्यमा प्रेरित गर्दै आएको बताउनुभयो । जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्राचिन घलेले विद्यार्थीहरूलाई मानव सेवामा सक्रिय हुन आग्रह गर्नुभयो ।





