मुस्ताङको जनजीवन बोकेको ‘तोरकीन’माथि चितवनमा विमर्श

भरतपुर, २२ वैशाख ।
लेखक तथा पत्रकार क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’का विषयमा चितवनमा साहित्यिक छलफल सम्पन्न भएको छ । सम्पूर्ण किताबको आयोजनामा भएको कार्यक्रममा कृतिले उठाएको कथा, विषयवस्तु र लेखकका अनुभूतिबारे विविध दृष्टिकोण प्रस्तुत गरियो ।

समालोचक उदय अधिकारीले ‘तोरकीन’लाई आञ्चलिक तथा सामाजिक यथार्थमा आधारित उपन्यासको रूपमा व्याख्या गर्दै हिमाली भेग, विशेषतः मुस्ताङको जनजीवनलाई सशक्त रूपमा चित्रण गरिएको बताए । उनका अनुसार उपल्लो मुस्ताङको चराङ गाउँबाट सुरु हुने कथाले स्थानीय संस्कृति, जन्म–मृत्यु–विवाहजस्ता परम्परा र भौगोलिक परिवेशलाई जीवन्त बनाएको छ ।

टिप्पणीकार गीता पौडेलले रित्तिँदै गएको गाउँको पीडालाई उपन्यासले मार्मिक ढंगले प्रस्तुत गरेको उल्लेख गरिन् । निर्दोष जीवनले वैदेशिक रोजगारीका कारण युवाशक्ति पलायनको यथार्थ समेटिएको बताउँदै कृतिमा आशा र सपनाको सन्देश पनि रहेको धारणा राखे । “यसमा राम्रो फिल्म बन्न सक्ने सम्भावना पनि छ,” उनले भने ।

वक्ता रिवाज अर्यालले चराङ गाउँको परिवेश, दरबार, गुम्बा र मिथकीय प्रसङ्गहरूको सुन्दर प्रस्तुति उपन्यासको विशेषता भएको बताए । तेजबहादुर कार्कीले हिमाली संस्कृति, पर्यावरण र तिब्बतसँगको सम्बन्धलाई कृतिमा प्रभावकारी रूपमा जोडिएको बताए ।

वक्ता शून्य नयनका अनुसार उपन्यासमा प्रेम, रोमान्स र मानवीय संवेदनासँगै निम्नमध्यम वर्गका संघर्ष र बाध्यताहरू पनि उजागर गरिएका छन् । सरल तथा काव्यात्मक भाषा र स्थानीय लवजले कृतिलाई थप पठनीय बनाएको उनको भनाइ थियो ।

वक्ता एलबी क्षेत्रीले अन्तर्राष्ट्रिय उपन्यास लेखन अभ्यासको सन्दर्भ जोड्दै पहिलो कृतिमार्फतै प्रभाव जमाउन सफल लेखकका रूपमा क्षितिज समर्पणलाई उल्लेख गरे ।

कार्यक्रममा लेखक समर्पणले मुस्ताङको चराङ गाउँको विकासक्रम र बिखण्डनलाई उपन्यासमा समेटिएको बताए । `हिमाल रित्तिँदैछन्, गाउँहरू सुनसान हुँदैछन्, यो ठूलो विडम्बना हो,´ उनले भने । प्रेम, मित्रता र मानवतालाई पर्यावरणसँग जोडेर ‘तोरकीन’ सिर्जना गरिएको उनको भनाइ थियो ।

समग्रमा, ‘तोरकीन’ हिमाली जीवनशैली, संस्कार र सामाजिक यथार्थलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने कृतिका रूपमा उभिएको वक्ताहरूले निष्कर्ष निकाले । कार्यक्रमलाई सम्पूर्ण किताबका सञ्चालक एवम् पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

तोरकीन उपन्यासलाई बुकहिल पब्लिकेसन्सले प्रकाशन गरेको हो । अघिल्लो साता सुर्खेतबाट अन्तरक्रिया कार्यक्रम सुरु गर्दै यात्रामा निस्किएका लेखक समर्पण कोहलपुर, दाङ र बुटवलमा कार्यक्रम सकेर मङ्गलबार चितवन आएका हुन् । पूर्वी नेपालका प्रमुख शहरमा पनि छिट्टै नै अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको लेखक समर्पणले सुनाए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट