जङ्गलबीचको सडक यात्रा असुरक्षित : वन्यजन्तु र मानव दुवैको सुरक्षामा ध्यान दिन आग्रह

चितवन, १९ वैशाख ।
नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी पूर्वको लोकाहा उकालो क्षेत्रमा वन्यजन्तु सुरक्षाका लागि स्पीड लिमिट बोर्ड राखिएको छ । घना जङ्गलबीच पर्ने यस सडक खण्डमा सवारी साधनको गति नियन्त्रणमार्फत दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिएको हो ।

स्थानीयवासीका अनुसार सडक विस्तारसँगै विकासको गति बढे पनि यात्रा सुरक्षाको पक्ष अझै चुनौतीपूर्ण रहेको छ । विशेषगरी जङ्गल क्षेत्र भएर गुड्ने सवारीसाधनका कारण वन्यजन्तु जोखिममा पर्ने र सवारी दुर्घटनाको सम्भावना उच्च रहने गरेको उनीहरूको भनाइ छ ।

ठूला सवारी साधनका लागि तुलनात्मक रूपमा सहज भए पनि दुई पाङ्ग्रे सवारी साधनका चालकहरू भने बढी जोखिममा पर्ने गरेका छन् । जङ्गल क्षेत्रमा वन्यजन्तुको अनियमित आवागमनका कारण उनीहरूले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

यस अवस्थामा स्थानीय तह र नेपाल सरकारले जङ्गल क्षेत्रका सडकलाई थप सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विज्ञहरूले संवेदनशील वन क्षेत्रहरूमा फ्लाईओभर तथा अण्डरपास निर्माण गरी वन्यजन्तुको आवतजावत सहज बनाउने र सवारी आवागमनलाई सुरक्षित बनाउनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, वन्यजन्तुको कम जोखिम भएका क्षेत्रहरूमा तारजालीसहित व्यवस्थित ओभरपास निर्माण गर्न सकिने विकल्प पनि प्रस्तुत गरिएको छ । यसले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

सरकारले विकाससँगै मानव तथा वन्यजन्तु दुवैको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । साथै, चालकहरूलाई जङ्गल क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट