एसईईपछि सिप सिक्दै विद्यार्थी : ग्रीनल्याण्डमा नि:शुल्क तालिम

भरतपुर, १९ वैशाख ।
भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा एसईई दिएर बसेका विद्यार्थीका लागि सञ्चालन गरिएको नि:शुल्क सिपमूलक तालिम सम्पन्न भएको छ । वैशाख १३ गतेदेखि सुरु गरिएको तालिम शनिबार सम्पन्न भएको हो ।

समापन समारोहका प्रमुख अतिथि काठमाडौं बेकरीका सिइओ प्रकाश श्रेष्ठले एसईईपछि खाली समय सदुपयोग गर्दै सीप सिक्ने अवसर उपलब्ध गराउनु सराहनीय भएको बताए । उनले तालिममा सहभागी विद्यार्थीलाई काठमाडौं बेकरीमा ५० प्रतिशत छुटसमेत दिने घोषणा गरे ।

स्कुलकी प्राचार्य इन्दिरा कार्कीले तालिम विद्यार्थीका लागि उपयोगी भएको विश्वास व्यक्त गर्दै स्कुलले सधैं सिपमूलक र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताइन् । यस किसिमका कार्यक्रमले विद्यार्थीलाई भविष्यमा अध्ययनसँगै रोजगारीको अवसरसमेत सिर्जना गर्ने उनको भनाइ थियो ।
सह–प्राचार्य उपेन्द्र आचार्यले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै स्वरोजगारतर्फ उन्मुख हुन विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रम संयोजक तथा स्कुल नर्स सुरुची कँडेलका अनुसार तालिमअन्तर्गत केक बनाउने, ब्युटिसियन, गर्मी मौसमका पेय पदार्थ बनाउने तथा वेब पेज डिजाइनिङ गरी चार विधामा प्रशिक्षण दिइएको थियो ।

तालिममा ग्रीनल्याण्डसहित विभिन्न विद्यालयका १२० जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा प्लस टु व्यवस्थापन संकाय संयोजक रामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट