अभिव्यक्ति स्वतन्त्रताको उच्चतम प्रयोग साहित्यमा गर्न सकिन्छ : पोखरेल

भरतपुर, १२ वैशाख ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक विपुल पोखरेलको `सङ्कल्पन´ पुस्तक हालै सार्वजनिक भएको छ । उक्त पुस्तकले पत्रकारिता र साहित्यबीचको सम्बन्ध, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास तथा विचार प्रवाहका विविध आयामलाई समेटेको छ ।

यसै सन्दर्भमा लेट्स टक चितवनको आयोजनामा शनिबार भरतपुरमा ‘लेखन र पत्रकारितामा विपुलको सङ्कल्पन्’ विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको उच्चतम प्रयोग साहित्यमा गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
“पत्रकारिता र साहित्य समाजका लागि हितकर र लाभदायी हुनुपर्छ,” उहाँले भन्नुभयो, “समाचारमा पक्षधरता देखाउनु उपयुक्त होइन, तटस्थता आवश्यक हुन्छ । लेखनको मूल्याङ्कन व्यक्तिविशेषले होइन, पाठक र समाजले गर्छन् ।”

उहाँले पत्रकारिता र साहित्यबीच स्पष्ट भिन्नता रहने उल्लेख गर्दै पत्रकारिता तथ्यमा आधारित हुने र साहित्य सिर्जनात्मक स्वतन्त्रतामा अघि बढ्ने बताउनुभयो । लेखनमार्फत समाजमा विचार प्रवाह हुने र त्यसले चेतनास्तर अभिवृद्धि गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पत्रकार कृष्ण गिरीले पोखरेलसँग संवाद गर्नुभएको थियो । कार्यक्रम लेट्स टक चितवनका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । यो कार्यक्रम लेट्स टकको १०१ औँ शृङ्खला हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट