घ्याङलेखमा सडक र पुल निर्माण: ४७ करोडको लगानीले दुर्गम गाउँमा विकासको ढोका खुल्दै

हेटौंडा, १० वैशाख ।
बागमती प्रदेश सरकारले मानव विकास सूचकाङ्कमा पछि परेको सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरेको छ ।

प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा २५ किलोमिटर लामो पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडकअन्तर्गत साढे १६ किलोमिटर सडक ५.५ मिटर चौडाइमा कालोपत्रे गरिएको हो । साथै, घ्याङलेख–२ को ठाडी खोला र वडा नं. ३ को तामाजोर खोलामा ४०/४० मिटर लम्बाइका दुई पक्की पुल पनि निर्माण सम्पन्न भएका छन् ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले नवनिर्मित सडक र पुलको उद्घाटन गर्दै मानव विकास सूचकाङ्कमा पछि परेका घ्याङलेख, धादिङको रुबी भ्याली र सिन्धुपाल्चोकको पाँचपोखरीमा मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले घ्याङलेखको थप पूर्वाधार विकासका लागि ३५ करोड रुपैयाँ बजेट प्रतिबद्धता जनाउँदै विकासमा दलीय स्वार्थभन्दा माथि उठ्न आग्रह गर्नुभयो ।

जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन अन्य मन्त्रालयसँग सहकार्य गर्दै लक्षित कार्यक्रम अघि बढाइने मन्त्री देवकोटाले उल्लेख गर्नुभयो । “जबसम्म विकासलाई जनताले आत्मसात् गर्दैनन्, तबसम्म त्यो वास्तविक विकास हुँदैन,” उहाँले भन्नुभयो ।

पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सांसद गंगानारायण श्रेष्ठले बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पछि परेको यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सांसद मातृकाप्रसाद भट्टराईले प्रदेश संरचनाकै कारण घ्याङलेखजस्तो विकट क्षेत्र राजधानीसँग जोडिन सम्भव भएको उल्लेख गर्दै भौतिकसँगै मानवीय विकासमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका अनुसार २४ करोड ८८ लाख रुपैयाँमा १०.२० किमी र १० करोड ८० लाख रुपैयाँमा ६.३० किमी सडक निर्माण गरिएको हो । त्यस्तै, ११ करोड २८ लाख रुपैयाँको लागतमा दुईवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । २०८३ सालसम्मको म्याद रहे पनि योजनाहरू समयअगावै सम्पन्न भएको जनाइएको छ ।

समयमै काम सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । पुलतर्फ श्री सृजना निर्माण सेवा, सिन्धुली तथा सडकतर्फ श्री जयबाबा गोरख–सारस–बालकोट जेभी र श्री सञ्जीव–सिन्धुली जेभी सम्मानित भएका छन् ।

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार सडक पूर्वाधार विकाससँगै ‘सिन्धुलीको कर्णाली’ भनेर चिनिने घ्याङलेख अब दुर्गम मात्र नभई सम्भावनाको केन्द्र बनेको छ । प्रदेश सरकारको छिटो निर्णय प्रक्रियाका कारण सडक समयमै सम्पन्न भएको उहाँले बताउनुभयो ।

यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहले सडक विस्तारसँगै सवारी गति र दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । घर तथा अन्य संरचना निर्माण गर्दा सडक मापदण्ड पालना गर्न स्थानीय तह र नागरिकलाई उहाँको सुझाव थियो ।

यस सडकको करिब ९ किलोमिटर कालोपत्रे र दुईवटा पुल निर्माण अझै बाँकी छ । सबै काम सम्पन्न भएपछि घ्याङलेख मदन भण्डारी राजमार्ग र बीपी राजमार्गसँग जोडिनेछ, जसले जिल्ला सदरमुकाम, प्रदेश र संघीय राजधानीसम्मको पहुँच सहज बनाउनेछ ।

पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार हाडी खोलामा २० मिटर लामो पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ भने मरिण खोलामा पुल र बाँकी सडक कालोपत्रेका लागि बजेट प्राप्त भएपछि काम सुरु गरिनेछ ।

भौतिक पूर्वाधार विस्तारसँगै स्थानीयको जीवनस्तरमा सुधार देखिन थालेको छ । उद्घाटन समारोहमा भेटिएका ७८ वर्षीय विन्द्रे स्याङ्तानले विगत सम्झँदै भन्नुभयो, “पहिला नुन–तेल बोकेर दिनभर हिँड्दा पनि बजार पुग्न मुस्किल हुन्थ्यो, आज गाडी चलेको देख्दा सपनाजस्तै लागेको छ।”

स्थानीय शिक्षक श्रवणकुमार सुनुवारले अब किसानले उत्पादन गरेको तरकारीले बजार पाउने र व्यावसायिक कृषि तथा माछापालनबाट गाउँको आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, उपाध्यक्ष शंकरमान घलान, नेकपा एमाले जिल्ला इन्चार्ज मनोजजंग थापा, सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्की लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट