भरतपुर, १० वैशाख ।
आज विश्वभर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै गर्दा चितवनमा पुस्तकप्रेमसँग जोडिएको एक अर्थपूर्ण पहल गरिएको छ ।
यस अवसरमा ‘सम्पूर्ण किताब नारायणगढ’ले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत (थुनुवा) कक्षमा सञ्चालनमा रहेको पुस्तकालयका लागि २० हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न पुस्तकहरू हस्तान्तरण गरेको छ । उक्त पुस्तकहरू जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीलाई प्रदान गरिएको हो ।
सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटा स्वयं प्रहरी कार्यालयमै पुगेर पुस्तक हस्तान्तरण गरेका थिए । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घ चितवन शाखा र सम्पूर्ण किताबको पहलमा यसअघि पनि हिरासत तथा कारागारमा पुस्तक सहयोग गरिँदै आएको स्मरण गर्दै सापकोटाले थुनुवा व्यक्तिहरूको दैनिकी सहज बनाउन र आचरण सुधारमा पुस्तकले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीले विश्व पुस्तक दिवसको सन्दर्भमा गरिएको यो सहयोग विशेष महत्वको भएको बताए ।
प्रहरी प्रमुख पुरीले पुस्तकबाट प्राप्त हुने ज्ञान र चेतनाले व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै यस्ता पहललाई प्रशंसनीय कार्यका रूपमा व्याख्या गरे । उनले सहयोग आदानप्रदानको निरन्तरता हुनुपर्ने बताउँदै धन्यवाद समेत व्यक्त गरे ।





