प्राचीन समयमा व्यापारिक नाकाका रूपमा परिचित बन्दीपुर अहिले उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । मोटरबाटोको सुविधा नहुँदा तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख केन्द्रका रूपमा चिनिएको बन्दीपुरमा २०२५ सालमा सदरमुकाम दमौली सारिएपछि यसको पहिचान क्रमशः पर्यटनतर्फ मोडिएको हो ।
समृद्ध सांस्कृतिक सम्पदा र मनमोहक प्राकृतिक सौन्दर्यले बन्दीपुरको महत्त्व अझ बढाएको छ। यहाँका परम्परागत शैलीका घर, रमणीय बस्ती, खड्गदेवी माई, टुँडिखेल लगायत स्थलले पर्यटकलाई आकर्षित गर्छन् । बन्दीपुरको भूदृश्यबाट प्रभावित भई तत्कालीन राजा महेन्द्रले यसलाई “पहाडकी रानी” को उपमा दिएका थिए । मस्र्याङ्दी नदी पार गर्दै बन्दीपुर उक्लिने बाटोको चर्चा समेटिएको “बन्दीपुरे उकाली लामो…” गीत आज पनि लोकप्रिय छ ।
बन्दीपुरलाई नमूना गाउँ पर्यटन गन्तव्यका रूपमा विकास गर्न विभिन्न पहल भइरहेका छन्। यही वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुँदैछ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश, बन्दीपुर गाउँपालिका र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीको सहकार्यमा आयोजना हुने उक्त मेलाले स्थानीय पर्यटन व्यवसाय, विशेषगरी होमस्टेलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
मेलामार्फत साना पर्यटन व्यवसायी र सामुदायिक होमस्टेलाई सहरी बजार तथा ठूला एजेन्सीसँग जोड्ने, लगानी अभिवृद्धि गर्ने तथा गाउँ पर्यटनलाई थप चलायमान बनाउने उद्देश्य राखिएको छ । कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाबाट सहभागिता गराउने तयारी भइरहेको छ ।
बन्दीपुर गाउँपालिकाले ‘बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना हुन लागेको मेलामा सांस्कृतिक प्रस्तुति, पर्यटनसम्बन्धी छलफल, होमस्टे प्रदर्शनी तथा स्थानीय उत्पादनको प्रचारप्रसार गरिनेछ ।
यसैबीच, बन्दीपुर र व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट’ निर्माण प्रक्रिया अघि बढाइएको छ । यस अन्तर्गत मोहोरिया, रामकोट, कुलुङ, केशवटार, रुम्सी, धरमपानी, कमलाबारी, कोरिखा लगायत क्षेत्र समेटिएका छन् ।
हाल बन्दीपुर क्षेत्रमा छ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । भ्रमण वर्ष २०२५ मा यहाँ ६ लाख २५ हजार पर्यटक भित्रिएको तथ्यांक छ भने २०२६ मा सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। बन्दीपुरका रामकोट, धरमपानी र कोरिखा होमस्टेलाई नमूना पर्यटकीय गाउँका रूपमा विकास गरिँदैछ ।
मेलाले अर्गानिक खाना, रैथाने बाली तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, गण्डकी प्रदेशभर सञ्चालनमा रहेका ५० भन्दा बढी होमस्टेबीच सहकार्य, अनुभव आदानप्रदान र व्यवसायिक साझेदारी मजबुत हुने विश्वास आयोजकहरूको छ ।



