काठमाडौं, ९ वैशाख ।
पछिल्ला दिनमा विकसित भइरहेका संवेदनशील प्रकरणहरूको पृष्ठभूमिमा गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग मन्त्रालयमा महत्वपूर्ण छलफल गरिरहेका छन् । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत उच्च सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको स्रोतले जनाएको छ ।
सुरक्षा स्रोतका अनुसार पछिल्ला केही समययता विभिन्न प्रकरणसँग सम्बन्धित फाइलहरू पुनः खोलिने क्रम बढेको छ । तीमध्ये केही संवेदनशील मुद्दामा उच्च तहका व्यक्तिहरू नै अनुसन्धानको दायरामा आउन सक्ने संकेत देखिएको छ । यसले आगामी दिनमा कानुनी कारबाहीको दायरा फराकिलो हुने सम्भावना बढाएको बुझिएको छ ।
यसैबीच, दीपक भट्ट सँग जोडिएको सम्बन्ध प्रकरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको छ । यद्यपि, उनले यसलाई “मिडिया ट्रायल” को संज्ञा दिँदै आफूविरुद्ध सुनियोजित रूपमा वातावरण बनाइएको आरोप लगाएका छन् । गुरुङले भने, कुनै पनि दबाब वा आलोचनाका बीच कानुनी प्रक्रिया रोकिने अवस्था नरहेको स्पष्ट पारेका छन् ।
विश्लेषकहरूका अनुसार गृहमन्त्रालयमा भइरहेको यो छलफललाई सुरक्षा व्यवस्थापन कडाइका साथै विवादित प्रकरणहरूको छानबिनलाई तीव्रता दिने प्रयासका रूपमा हेरिएको छ । उच्च तहसम्म पुग्न सक्ने कारबाहीको तयारीबारे औपचारिक पुष्टि नभए पनि स्रोतहरू यसलाई गम्भीर ढंगले लिइरहेको बताउँछन् ।
सरकारको पछिल्लो गतिविधिले सुशासन, पारदर्शिता र कानुनी राज्यको कार्यान्वयनतर्फ कडा सन्देश दिन खोजिएको संकेत देखिएको छ ।




