चितवन, ३ वैशाख ।
नेपालमा दोस्रो पटक ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सुरु गरिएको छ । अर्थतन्त्रको यथार्थ अवस्था मापन गर्ने उद्देश्यसहित देशैभर सञ्चालन गरिएको यो अभियान अन्तर्गत चितवन जिल्लामा पनि आर्थिक गणना कार्यालय स्थापना गरी काम अघि बढाइएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय चितवनमार्फत एक जना जिल्ला आर्थिक गणना अधिकारीको नेतृत्वमा १७ जना सुपरिवेक्षक र १३३ जना गणक परिचालन गरिएको जिल्ला आर्थिक गणना कार्यालयकी प्रतिनिधि सावित्री पौडेल चालिसेले जानकारी दिनुभयो । चालिसेका अनुसार गणकहरूले घरघरमै पुगेर आर्थिक गतिविधिसम्बन्धी तथ्यांक संकलन गरिरहेका छन् ।
“अर्थतन्त्र मापनका लागि आर्थिक गणना २०८२” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस अभियान नेपालमा दोस्रो हो । यसअघि वि.सं. २०७५ मा पहिलो पटक आर्थिक गणना गरिएको थियो । हरेक पाँच वर्षमा गर्ने लक्ष्य भए पनि कोभिड–१९ महामारीका कारण यस वर्ष मात्र पुनः गणना सुरु गरिएको हो ।
आर्थिक गणनाको मुख्य उद्देश्य निश्चित समय र स्थानमा भएका आर्थिक गतिविधिहरूको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्नु रहेको छ । यसबाट कुल ग्राहस्थ उत्पादन (GDP), राष्ट्रिय लेखा प्रणाली तथा कृषि, खानी, उद्योग, व्यापारलगायत विभिन्न क्षेत्रका आर्थिक गतिविधिहरूको समग्र चित्र प्राप्त हुने अपेक्षा गरिएको छ ।
गणनाबाट प्राप्त तथ्यांकले विभिन्न क्षेत्रका सम्भावना, चुनौती तथा समस्याको पहिचान गरी समाधानका लागि नीतिगत पहल गर्न सहयोग पुग्ने जनाइएको छ । साथै, अर्थतन्त्रको अवस्था र व्यवस्थाबीच तादात्म्य कायम गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
जिल्लास्तरमा सुपरिवेक्षक र गणकहरू दरखास्त तथा छनोट प्रक्रियाबाट करारमा नियुक्त गरिएका छन् । सुपरिवेक्षकको मातहतमा गणकहरू खटाइने व्यवस्था गरिएको छ भने प्रत्येक गणकलाई सम्बन्धित पालिकाभित्रको निश्चित क्षेत्रमा परिचालन गरिएको छ ।
गणकहरूको मुख्य काम आफ्नो कार्यक्षेत्रमा पुगेर तथ्यांक संकलन गर्नु, व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नु तथा संकलित तथ्यांक जिल्ला आर्थिक गणना कार्यालयमा बुझाउनु हो ।
यसअघि उनीहरूलाई आवश्यक तालिम प्रदान गरी कार्यमा खटाइएको कार्यालयले जनाएको छ ।





