चितवन, २२ चैत ।
माडी नगरपालिका अन्तर्गत माडी–ठोरी हुलाकी राजमार्गमा पर्ने पतरे खोलाको पुल विगत करिब ८ वर्षदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीले विशेषगरी वर्षायाममा गम्भीर सास्ती खेप्न बाध्य भएका छन् ।
२०७४ असार ११ गते करिब ३ करोड ४० लाख रुपैयाँमा ठेक्का दिइएको उक्त पुल निर्माण कार्यमा चार पटकसम्म म्याद थपिए पनि उल्लेखनीय प्रगति हुन सकेन । अन्ततः मंसिर १२ गते ठेक्का सम्झौता नै रद्द गरिएको हुलाकी राजमार्ग निर्देशनालय, वीरगञ्जले जनाएको छ । हालसम्म पुलको भौतिक प्रगति १५ प्रतिशत पनि नपुगेको बताइएको छ ।
पुल नबन्दा माडी–७ स्थित किर्तनपुर र देवेन्द्रपुर जोड्ने यो मार्ग वर्षायाममा झन् जोखिमपूर्ण बन्दै गएको छ । स्थानीयवासी भन्छन्, “ठूलो पानी परेपछि यात्रा नै रोक्नुपर्छ, बिरामी परे झन् समस्या हुन्छ ।”
विज्ञहरूका अनुसार कमजोर योजना, राजनीतिक हस्तक्षेप, ढिलो निर्णय प्रक्रिया र प्रभावकारी अनुगमनको अभावले विकास निर्माण प्रभावित भइरहेको छ ।
उता, चितवन क्षेत्र नम्बर ३ की सांसद तथा कानुनमन्त्री सोविता गौतमले संसदमा विभिन्न क्षेत्रका विषय उठाए पनि माडीको यो दीर्घकालीन समस्याबारे भने उल्लेख नगरेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको छ ।
उहाँले हनुमानझुला, पारस बसपार्क, मेघौली र गोलाघाट क्षेत्रका विषयमा आवाज उठाउँदा माडीको पतरे खोलाको पुलबारे मौनता देखिएको स्थानीयको गुनासो छ ।
स्थानीयले तत्काल पुल निर्माण प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्। साथै गृहमन्त्री र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग पनि यसतर्फ ध्यान दिन आग्रह गरिएको छ ।
माडीका अन्य खोलामा पुल निर्माण सम्पन्न भइसकेको अवस्थामा अब पतरे खोला मात्र बाँकी रहेकाले यसको काम शीघ्र सुरु गर्नुपर्नेमा जोड दिइएको छ ।




