गैँडाकोटमा नारायणी नदीमाथि राष्ट्रिय पर्यटन काव्य उत्सव सुरु

नवलपरासी, २२ चैत ।
नवलपरासीपूर्वको गैँडाकोटमा राष्ट्रिय पर्यटन काव्य उत्सव–२०८२ सुरु भएको छ । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी भएका १०० भन्दा बढी सर्जकहरुले उत्सवमा पर्यटन सम्बन्धी रचना वाचन, कार्यपत्र प्रस्तुत, काव्य विमर्शलगायतका क्रियाकलाप गर्ने जनाइएको छ ।

नारायणी नदीमा सञ्चालित नेपालकै पहिलो र एकमात्रै राइनो क्रुजमा सञ्चालित राष्ट्रिय पर्यटन काव्य उत्सवको पहिलो दिन आइतबार सर्जकहरुले रचना वाचन गर्नुभएको छ । गैँडाकोट नगरपालिका र गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा सञ्चालित कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका उपकूलपति भीम शर्माले स्थानीय कला, साहित्य, सङ्गीत र संस्कृति संरक्षण र प्रबर्द्धन गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको बताउनुभयो । प्रज्ञाप्रतिष्ठानले यिनै विषयवस्तुमा आधारित रहेर स्थानीय, क्षेत्रीय र राष्ट्रिय कार्यक्रम गर्दै आएको उहाँको भनाइ छ ।

काव्य उत्सवको उद्घाटन सत्रमा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले नगरपालिकाले प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गर्दै स्थानीय कला, साहित्य, सङ्गीत र संस्कृति संरक्षण र प्रबर्द्धन गर्न धेरै कामहरु गरेको बताउनुभयो । नगरपालिकामा धेरै भाषाभाषी र सांस्कृतिक समुदायका व्यक्तिहरुको बसोबास रहेको भन्दै उहाँले आगामी दिनमा समेत पालिकाले स्थानीय कला, साहित्य, सङ्गीत र संस्कृति संरक्षण र प्रवर्द्धनका कामहरु गर्दै अघि बढ्ने बताउनुभयो । नगर उपप्रमुख शान्ति कोइरालाले गैँडाकोटमा नौलो कार्यक्रम सञ्चालन गरिएको भन्दै यसले संरक्षणको विषयमा माथिल्लो सरकारको ध्यानाकर्षण गर्ने बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जलविहारसहित आयोजना गरिएको यस साहित्यिक उत्सवले नवलपुरको पर्यटन प्रबर्द्धनमा थप टेवा पुर्‍याउने बताउनुभयो । यस प्रकारको कार्यक्रम पहिलोपटक विसं २०२२ मा देवघाटमा दुईवटा डुङ्गा जोडेर गरिएको भएपनि त्यसयता कुनै पनि कार्यक्रम नभएका स्रष्टाहरु बताउँछन् । नगरप्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य लेखराम सापकोटाले त्यस समयमा तत्कालीन राजा महेन्द्रले देवघाटमा डुङ्गामा आयोजना गर्नुभएको कार्यक्रममा पूर्वी नवलपरासी (नवलपुर) र चितवनका स्रष्टाहरुले रचना वाचन गरेको इतिहास आफूले सुन्दै आएको बताउनुभयो ।

करिब ६० वर्ष पछि नारायणी नदीमा भएको यस कार्यक्रमले नवलपुरको साहित्यिक क्षेत्रमा अगाडि बढाउँदै यहाँको पर्यटन प्रबर्द्धनमा थप सहयोग पुर्‍याउने बताउनुभयो । पहिलोसत्रमा आयोजित रचना वाचनमा सहभागी स्थानीय साहित्यकारहरुले नवलपुरको धार्मिक पर्यटकीय क्षेत्र, वन तथा वातावरण, पर्यावरण, नदी पर्यटन र संरक्षण एवम् प्रवद्र्धनलाई समेटेर कविता तथा गजल वाचन गर्नुभएको थियो । त्यस्तै पोखरा, चितवन, काठमाडौँलगायतबाट सहभागी स्रष्टाहरुले देशका पर्यटकीय स्थल र संरक्षण एवम् सौन्दर्यबारे आफ्ना रचना वाचन गर्नुभएको थियो ।

नवलपुर घर भई विगत १५ वर्षदेखि बेलायतमा बस्दै आउनुभएका सामाजिक एवम् राजनीतिक विश्लेषक नारायण गाउँलेले गजल वाचन गर्दै देशको देशको वर्तमान अवस्थाबारे दर्शाउनुभएको थियो । त्यस्तै पोखराका शिव त्रिपाठीले देशको प्राकृतिक सम्पदा र पर्यटकीय क्षेत्रबारे छन्दमा कविता गाउनुभएको थियो । काव्य उत्सव अन्तर्गत सोमबार तथा अन्तिम दिन कार्यपत्र प्रस्तुति एवम् काव्य विमर्श हुने आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट