चितवन, २२ चैत ।
स्तन क्यान्सरबाट पीडित बन्दीपुर–४ भैंसेखारकी ४१ वर्षीया कमलादेवी धमला जोशीको उपचारका लागि सहयोगी हातहरू थपिएका छन् । बन्दीपुर सामाजिक विकास समिति, तनहुँका आजीवन सदस्य छायाँ श्रेष्ठले आज अस्पतालमै पुगेर ७१ हजार ५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
संस्थाका अध्यक्ष यादवलाल श्रेष्ठ र महासचिव रेखा श्रेष्ठको पहलमा तथा आजीवन सदस्य छायाँ श्रेष्ठको समन्वयमा उक्त सहयोग रकम प्रदान गरिएको हो । उपचारमा आर्थिक समस्या झेलिरहेकी जोशीको थप उपचारका लागि संस्थाले विपी कोइराला क्यान्सर अस्पताल, भरतपुरसँग समन्वय समेत गरेको जनाएको छ ।
जोशीको २०८२ मंसिर ९ गते शल्यक्रिया गरिएको थियो । गत भदौ महिनामै क्यान्सर भएको थाहा पाए पनि आर्थिक अभावका कारण उपचार सुरु गर्न ढिलाइ भएको उनका श्रीमान किरण जोशीले बताउनुभयो । “सडक छेउमा फलफूल तथा तरकारी बिक्री गरेर जीविका चलाउँदै आएका थियौं, रोग लागेपछि सबै सकिएको जस्तो भयो,” उहाँले भन्नुभयो ।
परिवारका अनुसार हालसम्म कमलादेवीको उपचारमा १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । महँगो उपचारका कारण थप आर्थिक सहयोग आवश्यक रहेको परिवारले जनाएको छ ।
उपचारमा समस्या आएको जानकारी पाएपछि संस्थाका सदस्यहरूबीच छलफल गरी आफ्नै सदस्यहरूबाट रकम संकलन गरेर सहयोग गरिएको छायाँ श्रेष्ठले बताउनुभयो । संस्थाले यसअघि पनि विभिन्न मानवीय सेवामूलक कार्य गर्दै आएको छ ।




