भरतपुर, १४ चैत ।
विश्व रङ्गमञ्च दिवस (मार्च २७) का अवसरमा चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा बुद्ध दर्शनमा आधारित नाटक ‘अङ्गुलीमाल’ मञ्चन गरिएको छ । नाटक नारायणी कला मन्दिर र तरङ्ग नाट्य समूहको संयुक्त प्रस्तुति हो, जसको लेखन तथा निर्देशन रङ्गकर्मी देवकुमार श्रेष्ठले गर्नुभएको हो ।

बुद्धकालीन कथामा आधारित नाटकमा वेद–वेदाङ्ग संस्कृत विद्यापीठका छात्रहरू देवेन्द्र सापकोटा, वसन्त ज्ञवाली, ऋषि भट्टराई तथा कलाकार अङ्किता भुर्तेलले प्रभावशाली अभिनय प्रस्तुत गरेका थिए । उनीहरूको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । नाटकको व्यवस्थापन असीम हमालले गर्नुभएको थियो भने प्राविधिक सहयोग भीमबहादुर राईले प्रदान गर्नुभएको थियो ।
नाटक मञ्चनका लागि आरम्भ कलेज, विभिन्न लायन्स क्लबहरू, रविन फेन्सी, सम्पूर्ण किताब, रोयल डान्स एकेडेमीलगायत स्थानीय संघ–संस्थाहरूले आर्थिक सहयोग तथा सहकार्य गरेका थिए । दर्शकहरूको उत्साहजनक उपस्थिति कार्यक्रमको सफलताको प्रमुख आधार बनेको नारायणी कला मन्दिरका अध्यक्ष अनुकूल श्रेष्ठले बताउनुभयो ।
समाजमा शान्ति र अहिंसाको सन्देश फैलाउने उद्देश्यले प्रस्तुत गरिएको नाटकले दर्शकमा सकारात्मक प्रभाव पार्न सफल भएको तरङ्ग नाट्य समूहका अध्यक्ष देवकुमार श्रेष्ठले उल्लेख गर्नुभयो । यस्ता सिर्जनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो।





