चितवन, १२ चैत ।
बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर बालगृहमा लैजाने र उनीहरूको शोषण गर्ने प्रवृत्तिविरुद्ध चितवनमा ‘सुन्दरले घर सम्झिरहन्छ’ सडक नाटक पुनः मञ्चन गरिने भएको छ ।

कर्मी चौतारी र फ्युचर जेनेरेसन नेपालको सहकार्यमा तयार पारिएको उक्त नाटक बिहीबारदेखि कालिका नगरपालिकाका तीन विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको हो ।
नाटक विशेषगरी चितवनका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायका परिवार र उनीहरूले भोग्नुपरेका समस्यामा आधारित रहेको फ्युचर जेनेरेसन नेपालका परियोजना अधिकारी तथा कर्मी चौतारी चितवनका प्रदीप ढुङ्गानाले जानकारी दिनुभयो ।
कलाकारहरूका अनुसार यो चेपाङ बस्तीको कथामा आधारित नाटकले बालबालिकाका लागि आफ्नै घर सबैभन्दा सुरक्षित स्थान हो भन्ने सन्देश दिन्छ ।
यसअघि चितवनका १३ स्थानमा मञ्चन भइसकेको नाटकले दर्शकहरूमा गहिरो प्रभाव पारेको बताइएको छ । कलाकार जया ढकालका अनुसार नाटक प्रदर्शनका क्रममा विद्यार्थी र अभिभावकहरू भावुक हुने गरेका छन् ।
सडक नाटकलाई जनचेतनाको माध्यमका रूपमा रोजिएकोबारे कलाकार किरण ढकाल भन्छन्, “मूलधारका मिडियामा नआउने यस्ता गम्भीर मुद्दालाई सिधै समुदायसम्म पुगेर देखाउन सडक नाटक प्रभावकारी माध्यम हो ।” उहाँका अनुसार यसले कलाकार र दर्शकबीच प्रत्यक्ष अन्तरक्रिया गराउँदै समस्याको समाधान खोज्न मद्दत पुर्याउँछ ।
नाटकका निर्देशक तथा लेखक समेत रहेका ढुङ्गानाले गरिबीको फाइदा उठाउँदै बाह्य शक्तिहरूले बालबालिकालाई कसरी शोषण गर्छन् र उनीहरूको भविष्यमाथि खेलबाड गर्छन् भन्ने विषय नाटकले उजागर गर्ने बताउनुभयो ।
फ्युचर जेनेरेसन नेपालकी फिल्ड असिस्टेन्ट निशा तामाङले यस कार्यक्रमले समुदायमा बालगृहबारे रहेका भ्रम चिर्न र सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नाटक टोलीले “व्यक्ति तथा संस्थाको प्रलोभनमा नपरौँ, आफ्ना छोराछोरी आफैंसँग सुरक्षित राखौँ” भन्ने सन्देशसमेत दिएको छ । कलाकारहरू यो अभियानप्रति उत्साहित देखिएका छन् ।





