मकवानपुर, ११ चैत ।
बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री बोकेको ट्रक अनियन्त्रित भई सडक छेउको खाली घरमा ठोक्किँदै करिब १५० मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो भने चालक ३३ वर्षीय कृष्ण यादव घाइते भई उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
यसैबीच, चितवनको भरतपुर महानगरपालिका–२७ पर्साढाप बजारमा स्कुटरले साइकललाई ठक्कर दिँदा ६२ वर्षीय रामजी अर्यालको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई चितवन मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न स्कुटर चालक २८ वर्षीय सतिस मास्के प्रहरी नियन्त्रणमा छन् ।
उता, इच्छाकामना गाउँपालिका–६ स्थित त्रिशूली नदी किनारमा मंगलबार अपराह्न अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ भने पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।





