पर्वत, ७ चैत ।
साहित्यकार महेश्वर पन्तद्वारा लिखित ‘धर्तीमुनिका तारा’ कथासङ्ग्रहको गृह विमोचन गरिएको छ। कालिभक्त–कृष्णा पन्त प्रतिष्ठान, फलेवासमा आयोजित कार्यक्रम अनेसास केन्द्रीय संस्कृति समितिका सह–संयोजक शान्ता बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो ।
महिला शक्ति र सशक्तीकरणलाई विषयवस्तु बनाइएको उक्त कृतिको विमोचन प्रतिष्ठानका संरक्षक उर्मिला पन्तको प्रमुख आतिथ्यमा अनेसास सिक्किम (भारत) का सदस्य विष्णुमाया कट्टेल, बरकोडाली महिला समूहकी अध्यक्ष सरिता पौडेललगायतले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा बरकोडाली महिला समूह तथा गायक कृष्ण कँडेलले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष परमेश्वर पन्तले कृतिको चर्चा गर्दै पुरस्कारसम्बन्धी विषयमा प्रकाश पारेका थिए। कृतिका सम्पादक रमेश दाहाल र स्थानीय समीक्षक कमल पौडेलले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए भने अनेसास गण्डकीका अध्यक्ष देवेन्द्र केसीले गीतमार्फत शुभकामना व्यक्त गरेका थिए । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार ऋषभदेव घिमिरेले गरेका थिए ।





