चितवन, ६ चैत ।
कालिका नगरपालिकामा बाल संरक्षणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । फ्युचर जेनेरेसन नेपालको आयोजना, कालिका नगरपालिकाको समन्वय तथा करुणा ट्रस्टको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यशालामा बाल संरक्षण, बाल अधिकार तथा स्थानीय तहमा बाल अधिकार समितिको भूमिकासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको सहजीकरण अधिवक्ता सन्तोष पौडेलले गर्नुभएको थियो ।
कार्यशालामा बालबालिकासम्बन्धी ऐन, २०७५ ले निर्धारण गरेका व्यवस्था, स्थानीय बाल अधिकार समितिको भूमिका र बालकल्याण अधिकारीको काम, कर्तव्य तथा अधिकारबारे छलफल गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता पौडेलले बाल अधिकारका सैद्धान्तिक पक्ष तथा बालबालिकाको संरक्षणका लागि स्थानीय तहले खेल्नुपर्ने नीतिगत तथा कार्यान्वयनका चरणबारे जानकारी गराउनुभएको थियो । यस्तै, कार्यक्रममा पछिल्लो समय विश्वभर चलिरहेको ‘निस्थानीकरण’ (deinstitutionalization) को अवधारणाबारे पनि चर्चा गरिएको थियो । जसले बालबालिकालाई संस्थागत हेरचाह (बालगृह) मा राख्नुभन्दा परिवारमै राखेर संरक्षण गर्नुपर्नेमा जोड दिने विषयमा जानकारी गराइएको थियो ।
कार्यशालामा नगर बालकल्याण अधिकारी सम्झना ढकालले नगरपालिकाको भौगोलिक विकटता, विशेषगरी वडा नम्बर ९, १० र ११ का चेपाङ समुदायमा बाल संरक्षणका चुनौतीहरू रहेको जानकारी दिनुभयो । ती क्षेत्रका बालबालिकाहरू पढ्ने वा काम गर्ने बहानामा पालिकाबाहिर जाने र श्रमशोषण वा अन्य जोखिममा पर्ने समस्या रहेको उहाँको भनाइ थियो । यसलाई रोक्न नगरपालिकाले विद्यालयहरूमा छात्रवृत्ति र छात्रावासको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
कालिका नगरपालिकाकी बाल सम्पर्क व्यक्ति तथा बालकल्याण अधिकारी ढकालले नगरपालिकाले फ्युचर जेनेरेसन नेपाललगायतका गैरसरकारी संस्थासँग सहकार्य गर्दै बाल संरक्षण, सचेतना कार्यक्रम, बालविवाह न्यूनीकरण तथा जोखिममा रहेका बालबालिकालाई परिवारमै पुनःस्थापना गर्ने कार्यमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँका अनुसार संस्थामा राख्नुभन्दा बालबालिकालाई परिवार र समुदायमै सुरक्षित वातावरणमा राखेर संरक्षण गर्नु प्रभावकारी हुने भएकाले यसतर्फ विशेष ध्यान दिइएको छ ।
फ्युचर जेनेरेसन नेपालका परियोजना अधिकारी प्रदीप ढुंगानाका अनुसार ‘निस्थानीकरण’ अभियानअन्तर्गत संस्थागत हेरचाह (बालगृह) मा रहेका तथा अलपत्र अवस्थामा पुगेका चेपाङ समुदाय र इच्छाकामना क्षेत्रका गरी १७ जना बालबालिकाको उद्धार गरिएको छ । ती बालबालिकालाई अहिले परिवारमा पुनःस्थापना गराई घरमै बसेर पढ्ने वातावरण मिलाइएको छ । संस्थाले ती १७ जना बालबालिकाको निरन्तर अनुगमन तथा शैक्षिक सहयोग गरिरहेको जानकारी उहाँले दिनुभयो ।
परियोजना अधिकारी ढुंगानाका अनुसार फ्युचर जेनेरेसन नेपालले विगत करिब दुई वर्षदेखि कालिका नगरपालिका भित्र बाल संरक्षणको क्षेत्रमा कार्य गर्दै आएको छ । विशेषगरी भौगोलिक रूपमा विकट मानिएका वडाहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
कार्यक्रममा बोल्दै कालिका नगरप्रमुख विनोद रेग्मीले कार्यशालाबाट प्राप्त सुझावहरूलाई दस्तावेजका रूपमा राखेर आगामी दिनमा नीतिगत निर्णय र स्रोत व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बालबालिकाको भविष्य सुनिश्चित गर्न र उनीहरूको अधिकार प्राप्तिका लागि सेवा–सुविधामा कुनै कमी हुन नदिने उल्लेख गर्दै नगरपालिकाले फ्युचर जेनेरेसन नेपाललगायतका सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै, उपमेयर विमला तामाङले नगरपालिकाले वडा र पालिका स्तरमा गठन भएका बाल अधिकार समितिहरूलाई थप सक्रिय बनाउँदै बालमैत्री शासनको लक्ष्य प्राप्तिका लागि एकजुट भएर लाग्ने अठोट व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमहरूले बाल अधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, बाल अधिकार समिति सदस्य, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।





