मकवानपुर, १० जेठ ।
मकवानपुरको साहित्यिक संस्था मातृभूमि साहित्य समाजले विभिन्न विधामा योगदान पुर्याएका चार जना स्रष्टालाई सम्मान गरेको छ ।
समाजले जेठ ९ गते हेटौंडामा आयोजना गरेको ‘मातृभूमि साहित्य उत्सव–२०८३’ मा गजलकार प्रदीप रोदन (गोरखा) लाई ‘राजकुमार स्मृति मातृभूमि सम्मान–२०८२’, हास्यव्यङ्ग्यकार राजकुमार लामिछाने (मकवानपुर) लाई ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान–२०८२’, छन्दकवि बासुदेव पाण्डेय ‘प्रभाकर’ (सुर्खेत) लाई ‘होमनाथ बलदेवी छन्द साहित्य सम्मान–२०८२’ तथा स्वस्तिका बानियाँ (मकवानपुर) लाई ‘मंगलादेवी स्मृति मातृभूमि सम्मान–२०८२’ प्रदान गरिएको हो ।
उत्सवअन्तर्गत आयोजित प्राज्ञिक विमर्श कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएका थिए । ‘साहित्यमा कृत्रिम बौद्धिकता’ विषयमा डा. घनश्याम घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि साहित्यकार डीबी बर्तौलाले टिप्पणी गरेका थिए ।
त्यसैगरी ‘साहित्यमा अध्यात्म दर्शन’ विषयमा डा. ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने साहित्यकार अनिता कोइरालाले त्यसमा टिप्पणी गरेकी थिइन् ।
उत्सवअन्तर्गत ‘नारी स्रष्टाको साहित्य सिर्जनामा पुरुष अभिव्यक्ति’ शीर्षकमा अन्तरसंवाद कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त सत्रमा समालोचक चेतना शर्मा (काठमाडौं), समालोचक अनिता कोइराला (काठमाडौं) र उपन्यासकार कल्पना खरेल (नेपालगञ्ज) बीच बहस भएको थियो । कार्यक्रमको सहजीकरण साहित्यकार डा. निमेष निखिलले गरेका थिए ।
समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा साहित्यकार धनराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष हेमन्त ढुङ्गेलले गरेका थिए ।





