चितवन, २ चैत ।
राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत चितवनमा नयाँ जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी औपचारिक शुभारम्भ गरिएको छ । “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मुल नारासहित स्थापना गरिएको यस कार्यालय भरतपुर–१० दुरसचार मार्गमा शुभारम्भ गरिएको छ ।
चैत १ गते प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको चितवन जिल्ला आर्थिक गणना समन्वय समितिको बैठकमा कार्यालय स्थापना गर्ने निर्णय भएपश्चात प्रमुख कोष नियन्त्रक भीमार्जुन ज्ञवालीको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यो दोस्रो पटक आर्थिक गणना गर्ने भएको छ । पहिलो आर्थिक गणना २०७५ सालमा सम्पन्न भएको थियो । देशभरका आर्थिक गतिविधि सञ्चालन गर्ने प्रतिष्ठानहरूको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले ७७ जिल्लामा ८४ वटा आर्थिक गणना कार्यालय स्थापना गर्ने योजना रहेको छ र चितवन पनि यस योजनामा समावेश गरिएको छ ।
चितवन जिल्ला आर्थिक गणना अधिकारी रेणुकुमारी घिमिरेका अनुसार, चैत्र १ गतेदेखि असार मसान्तसम्म कार्यालयले जिल्लाका ७ वटै स्थानीय तहमा रहेका आर्थिक प्रतिष्ठानहरूको तथ्याङ्क संकलनका लागि ११७ जना गणक र १७ जना सुपरिवेक्षक परिचालन गर्नेछन् ।
वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिम प्राप्त गणकहरूले व्यावसायिक प्रतिष्ठानमा गई सूचीकरण तथा मुख्य प्रश्नावली भर्नेछन् भने सुपरिवेक्षकहरूले गणकहरूको कार्यमा सहजीकरण गर्नेछन् ।
यस राष्ट्रिय आर्थिक गणना २०८२ को उद्देश्य आधुनिक प्रविधि प्रयोग गरी सम्पूर्ण उद्योग र व्यवसायको विवरण संकलन गर्नु हो। यो गणनाबाट देशभरका आर्थिक एकाइहरूको वास्तविक अवस्था पहिचान, उद्योग तथा व्यवसायमैत्री नीति निर्माण, आर्थिक सम्भाव्यता अध्ययन, रोजगारीको अवस्था विश्लेषण र देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न आर्थिक क्षेत्रको योगदान पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





