चितवन, २९ फागुन ।
चितवनमा १९ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका – ८ बाघमारा खेल मैदानमा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।
चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिन चल्ने प्रतियोगिताको रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटाले उद्घाटन गरे । सो क्रममा मेयर सापकोटाले सधैं भरतपुरको बजार क्षेत्र केन्द्रित हुने जिल्ला स्तरीय प्रतियोगिता यसपटक रत्ननगरमा आयोजना गरेको भन्दै जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद व्यक्त गरे । यस्तै उनले कुनै पनि खेलाडीलाई प्रतियोगितामा सहभागिताका लागि आर्थिक अभाव भए सहयोग गर्ने प्रतिवद्धता जनाए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले केही पालिकाले खेलाडीहरु सहभागी नगराउनु दु:खद भएको बताए । प्रतियोगितामा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र माडी नगरपालिका मात्रै सहभागी छन् । अन्य पालिकाले सहभागिता जनाएनन् ।
ईच्छाकामनाले अन्तिम समयमा सहभागिता जनाएन । राप्ती र कालिकाले छनौट प्रतियोगिता नै गरेन । यो दु:खद पक्ष भएको अध्यक्ष कार्कीको भनाइ थियो । खेलकुदमा भविष्य बोकेका खेलाडीहरुका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यस किसिममा प्रतियोगितामा सहभागिताका लागि पालिकाले कुनै चासो नदिनु दु:खद भएको उनको भनाइ थियो । यसरी खेलाडीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै उनले खेलाडीलाई खेल्न पाउने वातावरण बनाउन पालिकाहरुको ध्यानाकर्षण गराए ।
यसैबीच रत्ननगरका मेयर सापकोटा र जिल्ला खेलकुदका अध्यक्ष कार्कीले १० परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि सापकोटालाई मायाको चिनोको सट्टा १० परिवारको स्वास्थ्य बीमा गरिदिने घोषणा भएको हो । मेयर सापकोटा र खेलकुदका अध्यक्षले समान ५-५ परिवारको स्वास्थ्य बीमा गर्ने घोषणा गरेका हुन् । कार्यक्रममा रत्ननगर ८ का वडाध्यक्ष कृष्ण चौधरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरी, जिल्ला खेलकुदका कार्यालय प्रमुख रामजी ढकाललगायतले बोलेका थिए ।
प्रतियोगितामा चार पालिकाबाट करिब ५ सय खेलाडी सहभागी छन् । उनीहरुले कराते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिवलमा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट हुनेछन् । यसैबीच सोही कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा नियुक्त कृष्णबहादुर नेपाल सुजन र नविना खनियाँलाई सम्मान पनि गरिएको छ ।





