चितवन, २७ फागुन ।
भरतपुर महानगरपालिका – २८ स्थित श्री आधारभूत विद्यालय सिसाबासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजनामा सञ्चालन गरिएको शिविरमा ७५ भन्दा बढी विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका शिक्षक डोलराज भण्डारीले जानकारी दिए ।
शिविरका क्रममा विद्यार्थीहरूलाई आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । साथै, विद्यार्थीहरूको दाँत तथा मुख स्वास्थ्यलाई ध्यानमा राख्दै ब्रस र मञ्जन पनि उपलब्ध गराइएको विद्यालयकी शिक्षक ईश्वरी भट्टले जानकारी दिइन् ।
कार्यक्रमका क्रममा विद्यालयलाई प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधि समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक एवं क्लिनिक नेपालका मेनेजर सुमन पौडेलले बताए ।





