ब्राजिलियन फुटबलमा अनौठो घटना : एउटै खेलमा २३ रातो कार्ड

ब्राजिलियन क्याम्पेओेनाटो मिनेरो च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा दुई पक्षबिच झडप हुँदा २३ खेलाडीले रातो कार्ड पाएका छन् । ब्राजिलियन क्लब क्रुजेरोका १२ र एट्लेटिको मिनेरोका ११ खेलाडीले रातो कार्ड पाएको एपीले जनाएको छ । ब्राजिलको फुटबल इतिहासमा एकै खेलमा सबैभन्दा धेरै रातो कार्ड दिइएको यो नै पहिलोपटक हो । सन् १९५४ मा ब्राजिलियन क्लब पोर्चुगुएसा र बोटाफोगोबिचको खेलमा २२ खेलाडीलाई रातो कार्ड देखाइएको थियो ।

ब्राजिलको बेलो होरिजोन्टेमा भएको फाइनल खेल क्रुजेरोले १–० ले जितेको थियो । टिटेको प्रमुख प्रशिक्षणमा रहेको क्रुजेरोका लागि काइओ जर्जले निर्णायक गोल गरेका थिए । टिटे ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पनि हुन् । क्रुजेरो सन् २०१९ पछि पहिलोपटक मिनास गेरेस राज्यको फुटबल च्याम्पियन बनेको हो ।

खेलको अन्तिम समयमा दुवै टोलीका समर्थक र खेलाडीबिच झडप भएको थियो । बेन्चमा रहेका खेलाडी पनि झगडा गर्न मैदानमा पुगेका थिए ।​ खेलाडी पनि झडपमा ओर्लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी मैदानमा प्रवेश गरेका थिए । ब्राजिलियन सञ्चारमाध्यमले रेफ्री म्याथ्युस डेलगाडो क्यान्डान्कनले झगडा शान्त भएपछि खेलाडीलाई मैदानबाट बाहिर पठाएका थिए । त्यसपछि उनले झडपमा संलग्न खेलाडीलाई रातो कार्ड देखाएका थिए । यसैबिच ब्राजिलियन खेलाडी हल्कले समर्थकसँग माफी मागेका छन् । उनले खेल भावनाविपरीत झडप भएको जनाउँदै माफी मागेका हुन् । ‘खेल भावनाविपरीतका काम गर्‍यौँ । प्रतिस्पर्धामा कमजोरी र गल्ती थाहा पाउनुपर्छ । फाइनल खेलमा मैदानमा जे भयो, त्यो ब्राजिलयन फुटबलको आचरण र खेल भावनाविपरीत थियो,’ हल्कले भने, ‘उपाधि भिडन्तमा दुई पुराना प्रतिद्वन्द्वी थिए । वास्तवमा एक–अर्काले सम्मान गर्नुपर्ने थियो, तर भएन ।’

झडप किन भयो ?
फाइनलमा क्रुजेरो र मिनेरो उपाधि भिडन्तमा थिए । क्रुजेरोले १–० ले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा गोल सम्भव भएको हो । एट्लेटिकोका गोलरक्षक एभरसनले क्रिस्टियनलाई धकेलेपछि विवाद सुरु भएको थियो । त्यसपछि एभरसनले क्रुजेरोका मिडफिल्डरको छातीमा खुट्टा राखेका थिए । त्यसलगत्तै दुवै टोलीका खेलाडी एक–अर्काविरुद्ध आक्रमणमा ओर्लिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट