पूर्वीय दार्शनिक परम्परामा “तन्त्र” शब्द उच्चारण हुनासाथ रहस्य, गूढता र अनुष्ठानिक विधिको छायाँ देखिन्छ । तन्त्रको मौलिक अर्थ यसभन्दा निकै व्यापक छ । ‘तन्’ धातुबाट बनेको तन्त्र शब्दको अर्थ विस्तार, प्रसार र चेतनाको तन्तु हो । यस अर्थमा तन्त्र कुनै सीमित अनुष्ठानिक पद्धति होइन। यो चेतनाको विज्ञान हो । यो मानव अनुभवलाई सम्पूर्णतामा स्वीकार गर्दै त्यसलाई मुक्तिको मार्गमा रूपान्तरित गर्ने सशक्त दार्शनिक परम्परा हो ।
वेद र उपनिषद्ले उद्घोष गरेको ब्रह्म तत्त्वलाई जीवनको व्यावहारिक धरातलमा उतार्ने काम तन्त्रले गरेको छ । उपनिषद् उल्लेखित रहस्यभित्र “तत्त्वमसि” भेटिन्छ, तन्त्रले अनुभूत गर्न सिकाउँछ । तन्त्रको केन्द्रीय दर्शन नै शिव र शक्ति ऐक्य हो । शिव शुद्ध चेतना हुन् । शक्ति सृजनात्मक ऊर्जा । यी दुई अलग सत्ता होइनन् । अद्वैतमा यिनको अभिन्न सम्बन्ध नै सृष्टिको रहस्य हो । तन्त्रका प्रमुख ग्रन्थहरूले यही सत्यलाई विविध संवाद, प्रतीक, साधना र अनेक विधिका माध्यमबाट व्याख्या गरेका छन् ।
१. विज्ञान भैरव तन्त्र : साक्षीभावको अन्तरयात्रा
यो ग्रन्थ कश्मीरी शैव परम्पराको अमूल्य निधि हो । संवादका पात्र भैरव (परम बोध) र भैरवी (जिज्ञासु चेतना) हुन्। यहाँ दार्शनिक प्रतिपादन सुस्पष्ट छ । परम तत्त्व कुनै बाह्य प्रतीकमा सीमित छैन । त्यो आफ्नै चेतनाको गहिराइमा अनुभूत हुन्छ ।
यस ग्रन्थमा ११२ प्रकारका ध्यानविधि (धारणा) उल्लेख छन् । श्वासको बीचको सूक्ष्म विराम, ध्वनिको प्रतिध्वनि, भय वा आनन्दको चरम क्षणलाई ध्यानको द्वार बनाइन्छ । साधकले “साक्षीभाव” धारण गरी अनुभवलाई तटस्थ रूपमा अवलोकन गर्छ ।
अतः विचारको अवसान र शुद्ध चेतनामा अवस्थिति । यहाँ मुक्ति कुनै परलौकिक प्रतिफल होइन । यो वर्तमानको अनुभव हो ।
२. कुलार्णव तन्त्र : वीरभाव र रूपान्तरण
कुल परम्पराको आधारभूत ग्रन्थ मानिने यस कृतिमा देहलाई नै साधनाको मन्दिर भनिएको छ । संवादका प्रतीकात्मक पात्र कुलेश्वर र कुलेश्वरी हुन् ।
दार्शनिक दृष्टिले यसले भोगलाई त्याग होइन । योगमा रूपान्तरण गर्ने मार्ग अगाडि बढाउँछ । “पशु–भाव” (डर, लज्जा, संकोच) लाई तोडेर “वीरभाव” ग्रहण गर्नु यसको मूल शिक्षा हो । गुरुदीक्षा, शक्तिपात र पञ्चमकार जस्ता तत्त्व यहाँ साधनाका साधन हुन्। इन्द्रियसन्तुष्टि होइन, यो ऊर्जाको ऊर्ध्वगामी रूपान्तरणका लागि हो ।
जीवन्मुक्ति संसारमै रहेर आसक्तिबाट पूर्ण स्वतन्त्रता हो ।
३. तन्त्रालोक : प्रत्यभिज्ञाको बौद्धिक शिखर
आचार्य अभिनवगुप्तद्वारा रचित यो ग्रन्थ कश्मीरी शैवदर्शनको विश्वकोश हो । यहाँ शिवलाई ‘अनुत्तर’ परम, अप्रतिम चेतनाका रूपमा प्रतिपादित गरिएको छ ।
“संसार शिवकै प्रकाश हो”—यस वाक्यमा तन्त्रालोकको सार निहित छ । आणव, शाक्त, शाम्भव र अनुपायजस्ता चार उपायमा साधना विभक्त छन् । विशेषतः “शाम्भव उपाय” बोधमा केन्द्रित छ। जहाँ साधक केवल पहिचान (प्रत्यभिज्ञा) मार्फत आफूलाई शिवस्वरूपका रूपमा अनुभूत गर्छ ।
यहाँ “शिवोऽहम्”, द्वैत र भ्रमको अन्त्य अनि सर्वत्र एकत्वको अनुभूति हो ।
४. महानिर्वाण तन्त्र : ब्रह्मभाव र सामाजिक समन्वय
यो ग्रन्थ शाक्त–शैव समन्वयको सशक्त उदाहरण हो । संवादका पात्र सदाशिव र आद्या शक्ति (काली) हुन् । कलियुगका साधकका लागि गृहस्थ जीवनमै साधना सम्भव छ भन्ने यसको मूल सन्देश हो ।
यसमा ब्रह्मध्यान, मन्त्रजप, नैतिक आचरण र सामाजिक उत्तरदायित्वलाई तन्त्र मार्गसँग जोडिएको छ । तन्त्र यहाँ अनुष्ठान मात्र होइन; जीवननीति हो ।
अतः सबै प्राणीमा ब्रह्मदर्शन—राग र द्वेषबाट मुक्त, समत्वयुक्त चेतना हो ।
५. सौन्दर्यलहरी : सौन्दर्य, शक्ति र आनन्द
परम्परागत रूपमा आदिशंकराचार्यसँग सम्बद्ध यो स्तोत्र श्रीविद्या साधनाको शिखर कृति मानिन्छ । यहाँ ललिता महात्रिपुरसुन्दरी र कामेश्वर शिव परम सौन्दर्य र आनन्दका प्रतीक हुन् ।
श्रीचक्र उपासना, अन्तर्याग (सामय भाव) र कुण्डलिनी जागरण यसको प्रमुख साधना हुन् । शक्ति मूलाधारदेखि सहस्रारसम्म आरोहण गर्दा साधक शिव–शक्ति सामरस्यको आनन्दमा विलीन हुन्छ ।
यहाँ परमानन्दभित्र साधक र साध्यको भेद विलीन हुन्छ ।
६. रसरत्नावली (सहजिया तन्त्र) : प्रेम र युगल तत्त्व
वैष्णव सहजिया परम्परामा राधाकृष्ण युगललाई परम तत्त्वको प्रतीक मानिन्छ । यहाँ राधा ‘ह्लादिनी शक्ति’ र कृष्ण ‘परम रस’ का प्रतीक हुन् ।
साधना “गोपीभाव” वा “मञ्जरीभाव” मा गरिन्छ। यहाँ अहंकार विसर्जन र समर्पित प्रेम यसको मूल स्वर हो। प्राकृतिक वेगलाई दमन होइन, सहज रूपान्तरण गर्ने दृष्टि यहाँ प्रबल छ ।
यहाँ रस अनुभूतिको रहस्यभित्र प्रेमी र प्रेमास्पदबीचको भेद अन्त्य हुन्छ ।
हामीले बुझ्नुपर्ने विषय के छ भने तन्त्र वास्तवमा जीवनविरोधी ज्ञान होइन, तपस्या हो । यसले जीवनलाई समर्थक बनाउँछ। उच्च र दिव्य जागरण ल्याउँछ । यसले देहलाई अस्वीकार गर्दैन; बरु देहलाई साधनाको सेतु बनाउँछ । विज्ञान भैरवको साक्षीभाव, कुलार्णवको वीरभाव, तन्त्रालोकको प्रत्यभिज्ञा, महानिर्वाणको ब्रह्मभाव, सौन्दर्यलहरीको आनन्दभाव र सहजियाको गोपीभावभित्र रहेका भिन्न बाटाहरू अन्ततः एउटै गन्तव्यतिर उन्मुख छन् । त्यहाँ आत्मा दिव्यताको प्रत्यक्ष अनुभूति हुन्छ ।
समकालीन विश्व जहाँ मानसिक अशान्ति, अस्तित्वगत रिक्तता र मूल्यसंकट व्याप्त छन्, यस्तो विषम परिस्थितिमा तन्त्रको सन्देश अमृतमय छ । तन्त्रका ग्रन्थहरूले पलायन होइन; ज्ञानको पालन–पोषण गर्छन् । यो एक दिव्य सजग मार्ग हो । संसारलाई त्यागेर होइन, संसारलाई पूर्णरूपमा स्वीकारेर स्वतन्त्रता सम्भव हुन्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ ।
यस अर्थमा तन्त्र “म” बाट “सर्व” तिरको यात्रा हो । यसले बन्धनबाट महासुखतर्फ, सीमित पहिचानबाट असीम चेतनातर्फ लैजान्छ । यही यात्रा जीवनको स्वीकृतिबाट मुक्तिसम्मको तान्त्रिक मार्ग हो ।





