चितवन, १९ फागुन ।
सौराहा जेसीजको आयोजनामा सौराहाको गैंडाचोकमा ‘होली मिलन कार्यक्रम’ उत्साहपूर्वक सम्पन्न भएको छ । मङ्गलबार आयोजित कार्यक्रममा जेसिसका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले एकआपसमा अबिर लगाउँदै शुभकामना आदान–प्रदान गरेका थिए । उनीहरूले फागु पर्वलाई आपसी सद्भाव, एकता र भाइचाराको सन्देश फैलाउने अवसरका रूपमा मनाएका थिए । आयोजकका अनुसार फागु पर्वले सामाजिक सद्भाव र सकारात्मक ऊर्जा प्रवाह गर्न टेवा पुर्याएको छ ।
सौराहा जेसीजका महासचिव केशव अर्यालले युवाहरूलाई सामाजिक गतिविधिमा सक्रिय गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले फागु जस्ता पर्वले समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि युवामुखी तथा समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
कार्यक्रममा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रोशन सुवेदीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो । रंग, संगीत र उत्साहका बीच सम्पन्न कार्यक्रमले सौराहामा फागु पूर्णिमाको रौनक थपिएको सहभागीहरूले बताएका छन् ।





