पत्रकार विराट अनुपमको ‘नेपालको आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक

काठमाडौँ, १९ फागुन ।
पत्रकार एवम् लेखक विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तकको विमोचन गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले संयुक्तरूपमा पुस्तक विमोचन गरेका हुन् ।

किताबबारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले यो एक ऐतिहासिक राजनीतिकसङ्ग्रह भएको बताए । कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने अनुपमले छोटो समयमै महत्त्वपूर्ण दस्ताबेज तयार पारेको उनको भनाइ थियो ।

त्यस्तै, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृत तथ्याङ्कसहितका नवीन सूचना रहेको भन्दै अनुपमले पठनयोग्य पुस्तक तयार पारेको बताए । त्यसैगरी, लेखक तथा प्रा.डा. जगत नेपालले आफूले समेत थाहा नपाएका कतिपय नयाँ तथ्याङ्क किताबमा रहेकाले राजनीतिक विषयमा चासो राख्नेहरूका लागि यो उपयोगी पुस्तक भएको उल्लेख गरे ।

लेखक अनुपमका अनुसार पहिलो आमनिर्वाचनका रोचक प्रसङ्गहरू किताबमा समावेश गरिएको छ । जसमा १०९ वटै निर्वाचन क्षेत्रको परिणाम, राजनीतिक दलका घोषणापत्र र तत्कालीन समयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका कभरेजलाई समेटिएको छ । साथै, नेपाली राजनीतिका ‘हेभिवेट’ नेताहरूको पराजय, बीपी कोइराला र राजा महेन्द्रबीचको दूरी तथा उम्मेदवार र मतदातासँगको प्रत्यक्ष संवादलाई पनि पुस्तकमा उतारिएको छ ।

अनुपमले यसअघि डोरबहादुर विष्टको पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’लाई ‘ल्हासाको खबर’का रूपमा नेपालीमा अनुवाद गरिसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट