चितवन, १८ फागुन ।
चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मीना खरेलको चुनावी प्रचारप्रसार अभियान समापन तथा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार घरदैलो अभियानसँगै भरतपुर महानगरपालिका–११ गोर्खाली टोलस्थित मायादेवी चोकमा फागु पूर्णिमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति क्षेत्र नम्बर २ चितवनको आयोजनामा भएको कार्यक्रममा चर्चित लोकदोहोरी गायिका राधिका हमाल ले बेजोड प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता जीतनारायण श्रेष्ठ प्रमुख अतिथि तथा बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । साथै महाधिवेशन समिति, महासमिति प्रतिनिधि, वडा अध्यक्ष, क्षेत्रीय सभापति, प्रदेश सभापतिलगायत हजारौं कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
उम्मेदवार मीना खरेलले प्रचारप्रसारको अन्तिम दिन घरदैलो अभियानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आयोजक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरिन् । उम्मेदवारी दर्ता गरेलगत्तै निरन्तर मतदाता भेटघाट, घरदैलो अभियान र कोणसभामार्फत सक्रिय रूपमा लागिपरेको बताउँदै उनले यस अवधिमा मतदाताका समस्या, गुनासा र सुझाव संकलन गरेको जानकारी दिइन् ।
उनले आफ्नै आर्थिक लगानीमा स्वतःस्फूर्त रूपमा सहयोग गर्दै पार्टी र संगठन मजबुत बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरिन् । “कांग्रेस रूपान्तरण भनेको यही नै हो,” उनले भनिन्, “निर्वाचनको जस्तोसुकै परिणाम आए पनि तपाईंहरूको गुन तिर्ने छु ।”
निर्वाचन नजिकिँदै गएकाले मताधिकार प्रयोग गरी आफूलाई विजयी गराउन आग्रह गर्दै उनले निर्वाचित भएपछि जिल्ला, क्षेत्र, प्रदेश र समग्र देशको हितमा इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।





