चितवन, १४ फागुन ।
रत्ननगर–४ स्थित बुद्धज्योति इङ्लिस स्कुलको आयोजनामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । विद्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी समस्याको विशेषज्ञद्वारा निःशुल्क जाँच गरिएको थियो ।
एन्जल फाउन्डेसन, उर्लाबारी (मोरङ) को प्राविधिक सहयोगमा सम्पन्न शिविरमा १२ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । शिविरमा एचआईभी, हेपाटाइटिस, सिफिलिस लगायत यौनरोग परीक्षण, रगत, सुगर र रक्तचाप जाँच गरी सेवाग्राहीलाई तत्काल रिपोर्ट प्रदान गरिएको थियो । आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।
विद्यालयका प्राचार्य बैकुण्ठ मरहठ्ठाले यस्ता कार्यक्रमले स्वास्थ्य सचेतना बढाउनुका साथै रोगको प्रारम्भिक पहिचानमा सहयोग पुग्ने बताए । फाउन्डेसनले स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा विभिन्न निःशुल्क कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।



