चितवन, ७ फागुन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशैभर चुनावी माहोल तातिरहेको छ । उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर समर्थन जुटाउन व्यस्त छन् । निर्वाचनको सरगर्मी बढेसँगै चितवन क्षेत्र नम्बर २ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ ।
यस क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
विगत निर्वाचनमा उल्लेखनीय मतसहित विजयी भएका लामिछाने यसपटक आफ्नो प्रभाव कायम राख्ने दाउमा छन् । उता कांग्रेस नेतृ खरेल संगठनात्मक बल, पुरानो जनाधार र स्थानीय सक्रियताको आधारमा बलियो चुनौती प्रस्तुत गरिरहेकी छन् ।
घरदैलो अभियान तीव्र
दुवै उम्मेदवारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय मुद्दा सुन्ने र समाधानको प्रतिबद्धता जनाउने क्रम बढिरहेको छ ।
लामिछानेले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारलाई मुख्य एजेन्डा बनाएका छन् । उनी भन्छन्, “राजनीतिमा पुरानो अभ्यास तोड्दै परिणाममुखी काम गर्नुपर्छ।”
यता खरेलले कांग्रेसको दीर्घकालीन संगठन, अनुभव र विकासको निरन्तरतामा जोड दिँदै मत मागिरहेकी छन् । उनले स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेकी छन् ।
‘मतान्तर मात्रै घटाउने होइन, जित्ने पक्का’
खरेल आफू स्थानीय रूपमा भिजेको उम्मेदवार भएको दाबी गर्दै चितवन–२ का मतदाताले आफूलाई विजयी गराउनेमा ढुक्क देखिन्छिन् ।
उनले भनिन्, “मतान्तर मात्रै घटाउने होइन, यो पटक कांग्रेससँग रिसाएका मतदाता र शुभेच्छुक पनि स्थानीय उम्मेदवारलाई जिताउन एकजुट भइसकेका छन् ।”
चितवनमै जन्मिएर विगत ४० वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय खरेलले यौन हिंसा नियन्त्रण सञ्जालमार्फत हिंसा प्रभावित महिला तथा बालबालिकाको न्यायका लागि नेतृत्व गर्दै आएकी छन् । चितवन–२ का २८ वटै वडाका समस्यासँग आफू जानकार रहेको उनको दाबी छ ।
उनले भनिन्, “दुई पटक निर्वाचन जितेका सांसदबाट अपेक्षित विकास बजेट नआएको भन्दै स्थानीय असन्तुष्ट छन् । म संसदमा कानून बनाउने मात्रै होइन, स्थानीय आवश्यकतामा समन्वयकारी भूमिका खेल्न सक्छु।”
कांग्रेसभित्र एकता, जितको आधार
कांग्रेस नेताहरूका अनुसार यसपटक पार्टीभित्र देखिएको एकताले खरेलको पक्षमा मत बढ्ने अनुमान गरिएको छ । आफ्नै चुनाव चिन्हमा मतदान गर्न पाउने अवस्थाले पनि कार्यकर्ता उत्साहित बनेको उनीहरूको दाबी छ ।
खरेल भन्छिन्, “जेन–जी युवाको भावना सम्बोधन गर्ने पार्टी कांग्रेस हो । परिवर्तनको सन्देश देशले पाइसकेको छ । मैले विगतमा गरेका कामहरू जनताले देख्नुभएको छ, त्यसैले जित्नेमा विश्वस्त छु।”
स्थानीयको भावनामा प्राथमिकता
स्थानीय मतदाताबीच उत्साह र चासो दुवै देखिएको छ । केही मतदाताले लोकप्रियताभन्दा स्थानीय रूपमा योगदान दिएका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
एक स्थानीय मतदाता भन्छिन्, “जनताको दुःख–सुखमा साथ दिने, समस्याको समाधान गर्न सक्ने चितवनकै छोरी मीना खरेल हुन् । हामीले यसपटक स्थानीय उम्मेदवारलाई जिताउनुपर्छ ।”
विगतमा दिएको मत अपेक्षित विकासमा रूपान्तरण नभएको गुनासो गर्दै केही मतदाताले यसपटक परिवर्तन खोजेको बताएका छन् । स्थानीय बस्तीका समस्या, सुकुम्बासी तथा विपन्न समुदायका मुद्दा समाधान हुन नसकेको उनीहरूको आरोप छ ।
निष्कर्ष
चितवन–२ मा यसपटकको प्रतिस्पर्धा केवल दुई उम्मेदवारबीचको चुनावी भिडन्त मात्र होइन, पुरानो अभ्यास र नयाँ विकल्पबीचको बहस पनि बनेको छ । लोकप्रियता, संगठन, स्थानीय सक्रियता र जनअपेक्षाबीचको यो टक्करले अन्ततः मतदाताको निर्णय कता मोडिन्छ भन्ने चासो देशव्यापी बनेको छ ।





