गैँडाकोट मेयर कपको उपाधि लुम्बिनी प्रदेशलाई

गैंडाकोट, ५ फागुन ।
गैँडाकोटमा सम्पन्न पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । रोमाञ्चक फाइनल खेलमा मधेस प्रदेशलाई ९ विकेटले पराजित गर्दै लुम्बिनीले शानदार जित हात पारेको हो ।

उपाधिसँगै लुम्बिनी प्रदेशले रु तीन लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मधेस प्रदेशले रु दुई लाख नगद हात पारेको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव खनाल १५४ रनसहित ‘म्यान अफ दि सिरिज’ घोषित हुँदै रु २५ हजार नगदबाट पुरस्कृत भए ।

९० रनको लक्ष्य सहजै पूरा
फाइनलमा मधेस प्रदेशले दिएको ९० रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको मधेस प्रदेश १९.२ ओभरमा ८९ रनमै समेटिएको थियो ।

लुम्बिनीको जितमा कप्तान देव खनालले अविजित अर्धशतक प्रहार गरे । उनले ४१ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ६१ रन बनाए । सम्राट भुसालले १५ बलमा १५ रन जोड्दै टिमलाई सहज जिततर्फ डोर्‍याए । मधेसका विशाल पटेलले एक मात्र विकेट हात पारे ।

मधेसको ब्याटिङ सङ्घर्षपूर्ण
मधेसका कप्तान अनिलकुमार साहले २८ बलमा तीन छक्का र चार चौकासहित ४४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । रुपेश कुमार सिंहले १५ रन जोडेका थिए ।

बलिङतर्फ लुम्बिनीका निर्मल गुरुङ र अजय चौहानले तीन/तीन विकेट लिए । वीरबहादुर घर्ती मगर, सलाहुद्दिन खान र कृष्ण कार्कीले एक/एक विकेट लिँदै मधेसलाई सस्तोमा समेटे ।

आठ टोलीको सहभागिता
प्रतियोगितामा सातै प्रदेशका सात टोली र आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको गैँडाकोट मेयर्स–११ गरी आठ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक रामचन्द्र सापकोटाले जानकारी दिए ।
प्रतियोगिता गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा फागुन १ गतेदेखि सञ्चालन भएको थियो ।

खेलकुदमा स्थानीय लगानी
पुरस्कार वितरण कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले स्थानीयस्तरका प्रतियोगिताले गैँडाकोटलाई खेलकुदको उर्वर भूमि बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । खेलकुदले अनुशासन र असल नागरिकता विकास गर्न सहयोग गर्ने उल्लेख गर्दै पालिकाले खेल क्षेत्रको विकासमा निरन्तर लगानी गर्दै आएको उनले बताए ।

गैँडाकोट मेयर कपले यसपटक पनि उत्साहजनक प्रतिस्पर्धा र खेलकुदप्रेमी दर्शकको व्यापक सहभागितासहित सफलता हासिल गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट