आमाको ममताको थैली
पोल्टाभरी रहँदा रहँदै
फुस्कियो २०५८ सालदेखि
तड्पिएका यी नयनले पाएनन्
सिँचाइ गर्ने फाँटहरू
पाएन यो शिरले ममताको
सिरानी ।

हेर्दा बलियो लाग्ने सतिसाल पनि
मनभित्र आँधी चल्दा सिमलजत्तिको
आँटिलो पनि नलाग्ने रहेछ
मलाई त्यो बेलाबाट थाहा भयो
दुःखी हुनलाई त दुःख पोख्ने ठाउँ
हुनुपर्ने रहेछ ।

पानीको धारा टाढा छ भन्ने
जब थाहा हुन्छ तब प्यास
पनि मधुरो हुने रहेछ
कसरी निभाएँ होला मनभित्रका
ज्वालामुखीका लप्काहरू,
कसरी भिजाएँ होला तिम्रो
अभावले चिच्याउँदा सुकेका गलाका
नलीहरू
न विपनामा बहने ठाउँ थियो
न सपना कहने ठाउँ थियो
मरुभूमिमा हुर्किएको वनस्पतिजस्तै
मनलाई दर्शनढुङ्गाभन्दा पनि
दरिलो मुटु बनाउने
कोशिश गरिरहेँ ।

आखिर पहरा पनि त रसाउने रहेछ
चट्टानभित्रको पत्थर चिरेर पनि
फूल फुल्ने रहेछ
अफ्ठ्यारोमा फुलेको फूलले पनि
बेली चमेलीझैँ सुवास दिने रहेछ
मौनताको जिन्दगी सहज बनाउँदै
कहिले पत्थरमा, कहिले काँडामा
टेकेका पाइतालालाई
मलमलमा बिसाउने प्रयास गरिरहेँ
प्रिय कुराहरूको
अभावमा पनि
हाँसोको खोल ओढ्न
सिकायो समयले
भित्रभित्रै चर्कँदै
बाँचिरहन बाध्य बनायो ।

तिमी गएपछि
तिमीजस्तै स्वभावहरू आए
तिम्रैजस्तै प्रभावहरू आए
तर तिमी कहिल्यै आइनौ
हरेक उपस्थितिमा
तिम्रो अनुपस्थितिले
चिसो पारिरह्यो मन
तिम्रो अभाव सधैँ मेरो
श्वाससँगै बाँधिएर रहिरह्यो
र रहिरहने छ
जन्म–जन्मान्तरसम्म,
जन्म–जन्मान्तरसम्म ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट