स्याङ्जा, २५ माघ ।
नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समको १२४औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको पूर्वसन्ध्यामा जगत्रदेवी साहित्य सङ्गम, गल्याङ स्याङ्जाद्वारा आयोजित “गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह–२०८२” माघ २४ गते गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ ।
पल्लव साहित्य प्रतिष्ठान, भरतपुर चितवनका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) प्रमुख अतिथि रहनुभएको उक्त समारोहको सभापतित्व जगत्रदेवी साहित्य सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईले गर्नुभएको थियो ।
सभाध्यक्ष भट्टराईले सहयोगी र उदार मन भएका पूर्व विद्यार्थीहरूको विशेष सहयोगमा गल्याङमा काव्य उत्सव आयोजना गर्न सफल भएको उल्लेख गर्दै, स्थानीय तहको लगानीमा हुनुपर्ने काम देश–विदेशमा श्रम गरिरहेका व्यक्तिहरूको सहयोगबाट सम्भव भएको जानकारी दिनुभयो ।
कार्यक्रम डा. विश्वविके खड्का (अमेरिका निवासी) को प्रायोजनमा सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) लाई “जगत्रदेवी साहित्य सम्मान–२०८२” प्रदान गरिएको थियो । साथै प्रायोजक डा. खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो, जसको प्रतिनिधित्व उनका दाजु पितम खड्काले गर्नुभयो ।
सङ्गमका उपाध्यक्ष लिलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक योगदानबारे प्रकाश पार्नुभयो । कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य प्रतिष्ठानका सदस्य लोकनाथ खराल तथा गल्याङ नगरपालिका वडा नम्बर – ७ का अध्यक्ष झविलाल पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । वडा अध्यक्ष पाण्डेले साहित्यिक संस्थालाई सशक्त बनाउन कार्यपालिकामा आवाज उठाउने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काव्य उत्सवमा प्रमुख अतिथि, सभाध्यक्षसहित दुर्गा राना, दिलीप मगर, गीता थापा, प्रेमबन्धु सुवेदी, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद ढकाल, पार्वती थापा, लोकहरि पाण्डे ‘क्षितिज’, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, मित्रलाल गौतम लगायतका साहित्यकारहरूले राष्ट्रिय परिवेशमा आधारित कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्गमकी कोषाध्यक्ष पार्वती थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो ।





