भरतपुर । भारतमा जारी आईसीसी पुरुष टिट्वेन्टी विश्वकपको समूह सी अन्तर्गत पहिलो खेलमा नेपाल इङ्गल्याण्डसँग पराजित भएको छ । निकै नै रोमाञ्चक बनेको खेलमा इंगल्याण्डले नेपाललाई ४ रनले हराएको हो । त्यसका लागि उसले खेलको अन्तिम बलसम्म कुर्नुपरेको थियो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।
मुम्बइस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्गल्याण्डले सुरुवातमा नेपाली बलरहरूको कसिलो बलिङसामु दबाब महसुस गरेको थियो। यद्यपि ह्यारी ब्रुकको ५३ र ज्याकोब बेथेलको ५५ रनको मद्दतमा इङ्गल्याण्ड १८४र७ को बलियो स्थितिमा पुग्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २(२ विकेट लिए।
दुई पटकको च्याम्पियन इंगल्याण्ड विरुद्ध लक्ष्य पछ्याउने क्रममा नेपालले निडर प्रदर्शन गर्यो। कप्तान रोहित पौडेल (३९) र अलराउन्डर दीपेन्द्र सिंह ऐरी (४४) ले इनिङ्सलाई सम्हालेका थिए। अन्त्यतिर लोकेश बमले २० बलमा ३९ रनको विष्फोटक पारी खेल्दै नेपाललाई ऐतिहासिक जितको संघारमा पुर्याए।
नेपाललाई अन्तिम ६ बलमा मात्र १० रन आवश्यक थियो। इङ्गल्याण्डका साम करनले निकै कसिलो बलिङ गर्दै मात्र ५ रन खर्चिएपछि नेपालले खेल जित्नबाट वञ्चित भएको हो ।
जीतसँगै इंगल्याण्डले दुई अंक बटुलेको छ । ऊ समूह सी को अंकतालिकामा दोस्रो स्थानमा छ । स्कटल्याण्डलाई हराएको वेष्ट इन्डिजको समान २ अंक भएपनि नेट रन रेटका आधारमा वेष्ट इन्डिज समूहमा शीर्ष स्थानमा छ । इंगल्याण्डसँगको हारपछि समूह सी बाट अन्तिम आठको यात्रा तय गर्न नेपाललाई बाँकी खेलमा सकारात्मक नजिता निकाल्नुपर्ने दबाब बढेको छ ।





