गैंडाकोट, २५ माघ ।
नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस कालिका संस्कृत विद्यापीठमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा नव आगन्तुक विद्यार्थीहरूको स्वागत तथा सिर्जनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता उपसभापति मिलनकुमार पराजुलीले गरेका थिए भने सो कार्यक्रममा विद्यापीठ सञ्चालक समितिका अध्यक्ष एवं समाजसेवी ओमप्रसाद सापकोटा प्रमुख अतिथि थिए ।
शास्त्री तह प्रथम वर्ष, ११ कक्षा र कर्मकाण्ड प्रशिक्षणका लागि भर्ना भएका शिक्षार्थीहरूलाई रुद्राक्ष टीका र फूलगुच्छा प्रदान गरेर स्वागत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ओमप्रसाद सापकोटाले विद्यापीठलाई शास्त्रीय ज्ञान आर्जन गर्ने उत्कृष्ट गन्तव्य भएको र भाषा तथा संस्कृतिलाई समुदायसँग जोड्न विद्यापीठ सक्रिय रहेको बताए ।
विशिष्ट अतिथि तथा प्राचार्य डाक्टर केशवराज चालिसेले नव आगन्तुक सबैलाई हृदयदेखि स्वागत गर्दै संस्कृत वाङ्मय र आधुनिक शिक्षा बीचको समन्वयमा विद्यापीठ प्रतिबद्ध रहेको बताए ।
लेखा अधिकृत तथा कर्मचारी संघका केन्द्रीय सदस्य बेलबहादुर दराइले विद्यापीठले प्रशासनिक र शैक्षिक स्तरमा उच्चस्तरीय सेवा प्रदान गरिरहेको बताए । साथै विद्यार्थीहरूले नियमित कक्षासँगै अतिरिक्त गतिविधिमा पनि सहभागी हुने अवसर पाउनेछन् ।
कर्मकाण्ड प्रशिक्षण लिइरहेका विद्यार्थीहरूको तर्फबाट समाजसेवी विष्णु प्रसाद पौडेलले संस्कृत अध्ययनबाट नयाँ ऊर्जा प्राप्त भएको अनुभव साझा गरे । निवर्तमान प्राचार्य सहप्राध्यापक डाक्टर रामचन्द्र कँडेलले विद्यापीठ स्थापनामा समुदायको ठूलो योगदान भएको स्मरण गराए ।
कार्यक्रमको सहजीकरण शास्त्री चौथो वर्षका विद्यार्थी गणेश भण्डारीले गरेका थिए । सहभागी विद्यार्थीहरू यस्ता सिर्जनशील कार्यक्रमले मनोबल बढाउने र प्रतिभा विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यार्थी, प्राध्यापक, कर्मचारी र सामाजिक व्यक्तित्वहरूको घना उपस्थिति रहेको थियो ।





