चितवन, २५ माघ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर – २ मा नेपाली कांग्रेसले सामाजिक अभियन्ता मीनाकुमारी खरेललाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । त्यसैले कांग्रेसले यसपटक राजनीतिकभन्दा सामाजिक पहिचान भएको उम्मेदवार अघि सारेको हो ।
खरेल ३५ वर्षदेखि सामाजिक सेवामा सक्रिय रहिएकी छन् र महिला तथा बालबालिकाको उद्धार, शिक्षा र सामाजिक न्यायमा काम गर्दै आएकी छन् । कांग्रेसले उनलाई सामाजिक न्याय र मानवताको प्रतिनिधित्व गर्ने उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ ।
त्यसैगरी, लामिछाने नागरिकता विवाद र सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन रहे पनि यस निर्वाचनमा फेरि उम्मेदवार रहेका छन् ।
चितवन – २ मा नेकपा एमालेबाट अस्मिन घिमिरे र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट प्रताप गुरुङ उम्मेदवार छन् ।




