रत्ननगरमा महिला भेला : कांग्रेस उम्मेदवार बुर्लाकोटीले भने– जित अब निश्चित

रत्ननगर, २५ माघ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर – १ निर्वाचन परिचालन समितिको आयोजनामा महिला भेला तथा उम्मेदवार भेटघाट कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पका साथ कांग्रेस चुनावी अभियानमा होमिएको बताए । उनले आगामी निर्वाचनमा ‘सय पार, गगन थापाको नेतृत्वमा सरकार’ भन्ने नारासहित कांग्रेसका सबै शक्ति उम्मेदवार जिताउन एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्न जेन–जी युवाहरूको भावना सम्बोधन गर्ने नयाँ युगको पार्टीका रूपमा कांग्रेस रूपान्तरण भइरहेको उल्लेख गर्दै बुर्लाकोटीले परिवर्तनमुखी कांग्रेसका उम्मेदवारलाई जिताउनु आजको आवश्यकता भएको बताए ।

उनले यसपटकको निर्वाचनमा महिला शक्ति नै निर्णायक हुने दाबी गर्दै महिलाहरू एकजुट भएर अगाडि बढे कांग्रेसको जित रोक्न कसैले नसक्ने ठोकुवा गरे । उनले भने, “यसपटक मलाई जिताएर पठाउनुहोस् । चितवनका तीनवटै क्षेत्रबाट महिला उम्मेदवार बनाउने जिम्मा मेरो हुनेछ ।”

कार्यक्रममा कांग्रेस रत्ननगर सभापति प्रलाद सापकोटाले चितवन क्षेत्र नं १ का ४२ वडामध्ये स्थानीय तह निर्वाचनमा २१ जना महिला उम्मेदवार बनाउने प्रतिबद्धता जनाए । उनले भने, “हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने महिला यहाँ छन् । तपाईंहरू अगाडि बढ्नुस्, ५० प्रतिशत उम्मेदवार महिलाकै हुनेछन् ।”

उनले कांग्रेसका महिला नेतृ तथा कार्यकर्तालाई चुनावी अभियानमा सक्रिय हुन आग्रह गर्दै भने, “आफ्नो परिवारको भोट सुरक्षित गर्दै गाउँ–टोलमा पुगेर उम्मेदवारको पक्षमा भोट माग्नुस् । दृढ सङ्कल्पका साथ लाग्नुभयो भने राजेन्द्र बुर्लाकोटी सांसद र सभापति गगन थापा प्रधानमन्त्री बन्नुहुनेछ ।”

सभापति सापकोटाले आफू मेयर हुँदा रत्ननगर नगरपालिकामा वार्षिक ३ हजार ५ सय विपन्न नागरिकका लागि स्वास्थ्य बीमा, असहाय विपन्न उपचार कोष स्थापना, ब्लड बैंक सञ्चालन, क्यान्सर बिरामीलाई स्थानीय सरकारबाट २५ हजार रुपैयाँ सहयोग, उद्यमशीलता कार्यक्रमलगायत जनमुखी कामहरू गरेको उल्लेख गरे । “स्वास्थ्य बीमाको अवधारणा ल्याउने नेता गगन थापा नै हुनुहुन्छ, यो कुरा मतदातासम्म पुर्‍याउन आवश्यक छ,” उनले भने ।

कार्यक्रममा निर्वाचन संयोजक किरणभूषण ओलीले अनावश्यक प्रचारबाजी र सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण सामग्रीप्रति सचेत रहन आग्रह गरे । उनले भने, “विदेशमा रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले पनि घरपरिवारलाई आफ्ना उम्मेदवारका पक्षमा भोट हाल्न भनिरहनुभएको छ । कसैसँग नडराई प्रत्यक्ष र समानुपातिक दुवैमा कांग्रेसकै पक्षमा भोट माग्नुस् । जित टाढा छैन ।”

कार्यक्रममा राष्ट्रिय सभा सदस्य गीता देवकोटा, कांग्रेस नेतृ सावित्रीदेवी चौधरी, भागीरथी चौधरी, निता ढकाललगायतले क्षेत्र नम्बर १ को विकास र जनताको समस्या समाधानका लागि राजेन्द्र बुर्लाकोटीलाई अधिक मतसहित विजयी गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस रत्ननगरकी सचिव अनिता अर्यालले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट