पोखरा, २५ माघ ।
नेपाली लेखक सङ्घ कास्कीले शनिबार पोखरामा दुुई जना कविलाई सम्मान गरेको छ । गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशील लेखकको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले स्थापित लेखक कृति पुरस्कारबाट नवलपरासीका स्रष्टा कवि गोविन्दराज विनोदीको पुस्तक ‘अलङ्कार इन्द्रेनी’लाई पच्चीस हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । त्यसैगरी लामो समय नेपाली साहित्यमा योगदान दिएस्वरुप कवि तारा पाखेलाई स्रष्टा सम्मान गरिएको छ ।
लक्ष्मीशरण अधिकारीको संयोकत्वमा गणेश शर्मा र विष्णुप्रसाद शर्मा सदस्यका साथै संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहेको समितिले स्रष्टा छनौट गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली लेखक सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तीर्थ श्रेष्ठले स्रष्टाद्वयलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर उनीहरूको योगदानको चर्चा गरेका थिए ।
पुरस्कार छनौट समितिका संयोजक अधिकारीले पुरस्कृत पुस्तक र स्रष्टा विनोदीका बारेमा प्रकाश पारेका थिए भने संस्थाका उपाध्यक्ष कमल पौडेल अथकले सम्मनित स्रष्टा पाखेका विषयमा बोलेका थिए ।
कार्यक्रममा साहित्यकार सरुभक्त, सङ्घका केन्द्रीय उपाध्यक्ष ईश्वरमणि अधिकारी र गण्डकीका अध्यक्ष दीपक समीपले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कवि तारानाथ पराजुलीले पुरस्कृत कृतिबाट कविता वाचन गरेका थिए । त्यस्तै संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ र सचिव प्राञ्जलले पनि सम्बोधन गरेका थिए ।





