गीतकार किरण खरेल १ लाख राशिको सङ्गीत पुरस्कारबाट सम्मानित

मकवानपुर, १५ माघ ।
गीतकार किरण खरेल हेटौंडामा एक लाख रुपैयाँ राशिको ‘बिजुलीमाया वःन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट सम्मानित भएका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार आयोजित सम्मान तथा साङ्गीतिक कार्यक्रममा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपालले १७औँ संस्करणको उक्त पुरस्कार खरेललाई प्रदान गरेको हो ।

व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा बिजुलीमाया वःन श्रेष्ठको स्मृतिमा वि.सं. २०६४ मा स्थापना गरेको उक्त पुरस्कार नेपाली सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका सर्जकलाई प्रदान गर्दै आइएको छ ।

२०२० को दशकमा निर्माण भएको नेपाली चलचित्र माइतीघरको ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ जस्तो सदावहार गीतका सर्जक खरेल विगत सात दशकदेखि नेपाली गीत लेखनमा सक्रिय छन् । आधुनिक गीतदेखि चलचित्र सङ्गीतसम्म उनको योगदान उल्लेखनीय रहेको छ । उनले सात सयभन्दा बढी गीत र एक सयभन्दा बढी चलचित्रका लागि गीत रचना गरिसकेका छन् । ‘ए दूरका सितारा…’ बोलको गीत खरेलको पहिलो रचना हो ।

चारवटा गीत सङ्ग्रह प्रकाशित गरेका खरेलले तत्कालीन शाही नेपाल चलचित्र संस्थान तथा रेडियो नेपालमा कार्यक्रम निर्माता तथा सञ्चालकको जिम्मेवारी पनि सम्हालेका थिए । छिन्नलता गीत पुरस्कारलगायत विभिन्न सम्मान तथा विभूषणबाट सम्मानित खरेलले नेपाली गीत सङ्गीतलाई देश–विदेशमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।
‘जिन्दगीलाई जीत होइन…’, ‘हिमालको काखमा छ मेरो सानो गाउँ…’, ‘मन्दिरमा छ कि मूर्तिमा माया…’, ‘तारामात्र होइन तिमीलाई…’ लगायत उनका गीतहरू आज पनि कालजयी मानिन्छन् ।

यस पुरस्कारबाट यसअघि अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, दीप श्रेष्ठ, मीरा राणा, राजेन्द्र थापा, निर शाहलगायत विशिष्ट सर्जकहरू सम्मानित भइसकेका छन् ।
सोही अवसरमा गीतकार संघले पनि खरेललाई सम्मान गरेको थियो । साङ्गीतिक कार्यक्रममा खरेलका गीतहरूमा स्थानीय कलाकार तथा दार्जिलिङका गायक पवन गोलेलगायतले प्रस्तुति दिँदै कार्यक्रमलाई सांगीतिक बनाएका थिए ।

वि.सं. २०५९ भदौ ७ गते स्थापना भएको भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य तथा कला क्षेत्रमा योगदान पुर्‍याउने सर्जकलाई निरन्तर सम्मान गर्दै आएको प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट