काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी महिला टिट्वेन्टी विश्वकप छनौटमा स्कटल्याण्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘बी’ को निर्णायक खेलमा व्यहोरेको यो हारसँगै नेपालको सन् २०२६ को विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो।
कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डबाट १४१ रनको चुनौतीपूर्ण लक्ष्य पाएको थियो। तर जवाफी ब्याटिङमा नेपालको प्रदर्शन दयनीय रह्यो। नेपालले १३.५ ओभरमा ९ विकेट गुमाएर ६८ रनको स्कोरमा खुम्चिन पुग्यो । ब्याटिङका क्रममा ५ रन बनाएर घाइते भएकी कप्तान इन्दु बर्मा रिटायर्ड आउट भइन् ।
नेपाली इनिङ्समा बिन्दु रावलले १४ र रुविना क्षेत्रीले १० रन जोडे। रोमा थापाले ११ बलमा एक चौका र एक छक्कासहित आक्रामक सुरुवात गरे पनि ११ रनमै आउट भइन्। अन्य ब्याटरहरूमा सम्झना खड्का ७, कविता जोशी ६, पूजा महतो, सीता रानामगर र मनिषा उपाध्यायले समान २-२ रन मात्र जोड्न सके भने कविता कुँवर शून्यमा आउट भइन्।
समूह चरणका ४ खेलमध्ये केवल १ खेलमा जित हात पारेको नेपाल सुपर सिक्समा स्थान बनाउन असफल रह्यो। समूह ‘बी’ बाट नेदरल्याण्ड्स र स्कटल्याण्ड समान ६–६ अंक तथा थाइल्याण्ड ४ अंक जोड्दै सुपर सिक्समा प्रवेश गरेका छन्। प्रतियोगितामा सबै चार खेल हारेको जिम्बाब्वे भने अंकविहीन रह्यो।





