नारायणगढ, १० माघ ।
ओजस थिएटरको प्रस्तुति तथा तरङ्ग नाट्य समूह, चितवनद्वारा आयोजित ‘कर्तव्य’ नाटकमा सहभागी विद्यार्थीहरूका लागि सञ्चालन गरिएको समीक्षा लेखन प्रतियोगिताको नतिजा माघ ७ गते नारायणी कला मन्दिर, नारायणगढमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
नारायणी कला मन्दिरका अध्यक्ष अनुकुल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यस्तै, अतिथिका रूपमा भरतपुर महानगर प्याव्सनका अध्यक्ष मिनराज बस्ताकोटी तथा प्याव्सन केन्द्रीय सदस्य कृतिनिधि अर्याल सहभागी हुनुहुन्थ्यो ।
भरतपुर महानगरभित्रका १७ वटा विद्यालयबाट ४४ जना विद्यार्थी सहभागी भएको उक्त प्रतियोगितामा बिरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा नाट्य समालोचक रमेशकुमार श्रेष्ठ (रमेश प्रभात) निर्णायकको भूमिकामा रहनुभएको थियो ।
प्रतियोगितामा नारायणी इङ्गलिस बोर्डिङ स्कुलका कलश आले मगर सर्वोत्कृष्ट घोषित हुनुभयो । त्यसैगरी अरोमा इङ्गलिस सेकेन्डरी स्कुलकी आश्विनी चापागाईं, बालकुमारी इङ्गलिस स्कुलकी मान्यता गुप्ता, स्मल हेभन स्कुल कल्याणपुरकी बिपना अधिकारी तथा प्रेरणा सेकेन्डरी इङ्गलिस स्कुलकी साहना क्षत्री उत्कृष्ट घोषित हुनुभयो ।
सर्वोत्कृष्ट विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो भने उत्कृष्ट चार जनालाई जनही २ हजार रुपैयाँ, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।
पुष्पराज अवस्थीको निर्देशनमा तयार गरिएको ‘कर्तव्य’ नाटक २०८२ साल मंसिर १, २ र ३ गते नारायणी कला मन्दिर, नारायणगढमा मञ्चन गरिएको थियो । नाटकमा भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाभित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सोही अवसरमा तरङ्ग नाट्य समूहद्वारा आयोजित तेस्रो निःशुल्क नाट्य अभिनय प्रशिक्षण कार्यशालाको समापन गरिएको थियो भने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूले ‘उफ! महारानी’ लघु नाटक प्रस्तुत गरेका थिए ।





