कावासोती, १० माघ ।
प्रकृति पुस्तक पसल कावासोतीले ३०औँ वार्षिकोत्सव तथा १३औँ राष्ट्रिय पुस्तक दिवस श्रीपञ्चमीको अवसरमा विद्यालयमा अक्षरारम्भ गर्न आएका साना बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
वि.सं. २०५२ सालमा स्थापना भएको उक्त पुस्तक पसलले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै प्रत्येक वर्ष निःशुल्क स्टेशनरी तथा पुस्तक वितरण गरेर वार्षिकोत्सव मनाउँदै आएको नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले जानकारी दिए । उनका अनुसार प्रकृति पुस्तक पसलले श्रीपञ्चमी मात्र नभई अन्य विभिन्न सामाजिक गतिविधिमा समेत सहयोग गर्दै आएको छ ।
कावासोतीमा व्यवसाय सञ्चालन गर्दै आए पनि जिल्लाका विभिन्न स्थानमा सामाजिक कार्यमा योगदान पुर्याउँदै आएको डुम्रेले बताए ।
३०औँ वार्षिकोत्सव तथा राष्ट्रिय पुस्तक दिवसको अवसरमा कावासोती आसपासका क्षेत्रमा करिब ३८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको पुस्तक पसलकी व्यवस्थापक गीता पराजुलीले बताइन् । नवलपुर क्षेत्रका सामुदायिक विद्यालयहरूमा प्रत्येक वर्ष श्रीपञ्चमीको अवसरमा शैक्षिक सामग्री वितरण गर्दै आएको पनि उनले जानकारी दिइन् ।





