तनहुँ, ७ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधामबाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गर्नुभएको छ ।
उम्मेदवारी दर्ता गर्नु अघि मंगलबार डा. वाग्लेले देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको संगममा पूजा अर्चना गर्नुभयो । त्यसपछि उहाँले गलेश्वर आश्रम, चक्रवर्ती आश्रम, महेश सन्यास आश्रम तथा हरिहर आश्रममा पुगेर पीठाधीशहरूबाट आशीर्वाद लिनुभएको थियो ।
सो अवसरमा डा. वाग्लेले देवघाट नेपालकै प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक भएको उल्लेख गर्दै यसको उचित प्रचार–प्रसारमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको बताउनुभयो । देवघाटको धार्मिक पर्यटनलाई व्यवस्थित रूपमा विकास गर्न सकिएमा लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो ।





