चितवन, ७ माघ ।
इच्छाकामना गाउँपालिका–६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय तुन्तेषका सम्पूर्ण विद्यार्थीलाई झोला तथा पुस्तक वितरण गरिएको छ । भरतपुर महानगरपालिका–५ निवासी चन्द्रमा पोखरेल तथा उहाँका श्रीमान् हरिप्रसाद पोखरेलको सौजन्यमा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा युवा समाजसेवी प्रविन देवकोटालगायत अतिथिहरूलाई विद्यार्थीहरूले आफ्नै हातले बनाएको माला लगाई स्वागत गरेका थिए ।
प्रवासमा रहेका आफ्ना सन्तानहरूले संकलन गरेको सानो–सानो रकमबाट पोखरेल दम्पतीले विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आउनुभएको छ । यस्ता दाताहरूको सहयोगले विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थीहरूको पठनपाठनमा महत्वपूर्ण योगदान पुगेको विद्यालयकी प्रधानाध्यापक अम्बिका खड्काले बताउनुभयो ।
उहाँका अनुसार पिउने पानी, इन्टरनेट, सडक, बिजुली, खेलमैदानलगायतका विभिन्न समस्याका बाबजुद विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ । यद्यपि, दाताहरूको सानो सहयोगले पनि विद्यार्थीहरूमा उत्साह र पढाइप्रतिको लगाव बढाउन सहयोग पुगेको उहाँको भनाइ थियो ।
कार्यक्रमको समग्र सहजीकरण कवि तथा शिक्षक समाजसेवी विपिन पाठकले गर्नुभएको थियो ।





