भरतपुर, ६ माघ ।
कवि दोस्ताज मङ्गलबार चितवन आए । सोमबार काठमाडौंमा कवितासङ्ग्रह विमोचन गराएर उनी चितवन आएका हुन् । चितवन आएका उनले कवितासङ्ग्रह `एकदिन मानिसहरू फर्किनेछन्´ साथमै ल्याएका थिए ।
`काव्य काफिया´को पहिलो शृङ्खलामा उभिएका कवि दोस्ताजले आफ्नै सङ्ग्रहबाट ४ वटा कविता प्रस्तुत गरे । रचनागर्भसहित दोस्ताजले कविता सुनाएका हुन् । `चितवन आएर कविता सुनाउन पाउँदा मलाई खुसी लागेको छ, सबैप्रति प्रेम छ´, दोस्ताजले भने ।

कार्यक्रमका सूत्रधार रामकृष्ण अनायासले सहजीकरण गरेको कार्यक्रममा कवि दोस्ताजलाई सुन्न भरतपुरस्थित चिया सर्कलमा चितवनका धेरै कवि र कविता पारखी उपस्थित थिए । पूर्णप्रसाद अधिकारी र कपिल अज्ञातले कवि दोस्ताजलाई कवितामा बिम्बलाई प्रस्तुत गर्न सुझाव दिए । `कवि दोस्ताजका कवितामा आक्रोश र विरोधका स्वर धेरै छन्´, कवि एलबी क्षेत्रीले भने ।
`काव्य काफिया´ रचनावाचन शृङ्खला हो । `जहाँ शब्द, लय र भाव एकै स्वरमा बोल्छन्´ यो शृङ्खलाको नाम दिइएको छ । शृङ्खलालाई काव्य वाचनका रूपमा अगाडि बढाइने संयोजक सुमन घिमिरेले बताए ।





